पानवारी/ धरान–६ पानवारी स्थित सरस्वती माविको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसै वर्षको एसईई परिक्षामा उच्चतम अंक ल्याउने छात्र किरण आचार्य र सुनिता पराजुलीलाई नगद रु १ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै गरी १२ कक्षामा उच्चतम अंक ल्याउने छात्र लिला धमला र छात्रा मिनाकुमारी राईलाई पनि जनही १ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विद्यालयको तर्फबाट जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने कक्षा ८ का विद्यार्थी सौखिन आचार्य र जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने १२ कक्षाकी छात्रा समिक्षा राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने अभिभावकहरुलाई मनोरञ्जनात्मक तातो आलु खेल खलाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि जयकुमार राईले विद्यालयले हासिल गरेको उत्कृष्टतालाई उच्च सम्मान गर्दै अझ प्रगतीको कामना गरेका थिए । उनले यस विद्यालयका विद्यार्थीहरु जिल्लामै प्रथम स्थानमा आउनु र एसइइको नतिजा पनि राम्रो आउनुले विद्यालय उत्कृष्ट भएको प्रमाणीत गरेको बताउदै शिक्षाको महत्व सबैभन्दा ठूलो भएको बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले विद्यालयको आय व्यय तथा विद्यालयको भावि रणनीति प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर कटवालले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक चन्द्रप्रसाद काफ्लेले गरेका थिए ।