रङ्गेली / इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतको फलामे बार काटेर गएराती दुई कैदि फरार भएका छन । छिमेकी मुलुक भारतसँग सिमा जोडिएको विराटनगर रानी स्थित इलाका प्रहरी कार्यलयबाट विराटनगरका मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन भागेका हुन । विराटनगर १७ का मोहम्मद अस्ताक हुसेन हत्याको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका थिए । उनीहरुले थुनुवा कक्षको रड काटेर भागेको मोरङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता निशान थापाका अनुसार राति १२ बजे पछिको समयमा उनीहरु भागेको बताइएको छ । चारैतिर प्रहरी सेन्ट्री बसेको अवस्थामा थुनुवा भाग्नु गम्भीर भएको भन्दै घट्नाको प्रहरीले छानविन गर्ने भएको छ ।
दुुबै कैदीलाई आफ्नै साथि विराटनगरका मोहम्मद अस्ताकको अपहरण पछि हत्या गरेको आरोप लागेको थियो । अस्ताकको गत आसोज ७ गते सडकको ह्यूम पाइप भित्र लास फेला परेको थियो । फरार दुबैलाई कर्तव्यज्यान मुद्दको आरोपमा पक्राउ गरि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरु हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर भागेका हुन् । उक्त समयमा इलाका प्रहरी कार्यालयमा ७ जना प्रहरी ड्युटीमा रहेका थिए । फरार भएका थुनुवाहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त दिन इलाका प्रहरी कार्यालय रानिका प्रमुख प्रहरी निरिक्ष सन्तोष निरौला भने विदामा बसेका थिए ।