प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको बताइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको बताइएको छ । उनी विरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको प्रदेश अध्यक्ष कर्णवहादुर थापाले बताए । प्रदेश इञ्चार्ज भीम रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतसँग प्रधानमन्त्री ओलीले सोडारीका बारेमा छलफल गरेर हटाइएको बताइएको छ । उनका गलत क्रियाकलापको फोन रेर्कड अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाईसमेत सुनाइएको थियो । श्रोतका अनुसार पहिले पनि ओलीको इच्छा विपरीत भीम रावलले उनलाई मन्त्री बनाइएको थियो । उनी पार्टीभित्र माधव नेपाल समूहमा थिए । माधव नेपाल समूहभित्र पनि उनी घनश्याम भुसाल र योगेश भट्टराई निकट मानिन्छन् । एग्रेसिभ स्वभावका सोडारीको पारिवारिक समस्या पनि भएको श्रोतले बताएको छ ।