विराटनगर/ सुनसरी दुहबी नगरपालिकाकी एक महिलाले चक्रवर्ती ब्याज (मिटरब्याज) लिने व्यक्तिले दुुःख दिएको गुनासो गरेकी छन् ।

दुहबीमा किराना पसल गर्दै आएकी ३६ वर्षीया मुस्कान खातुनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै आफूलाई विराटनगरका मिटरब्याजी अब्दुर गफारले दुःख दिएको गुनासो गरेकी हुन् । गत साउनमा उनले गफारसँग ५ लाख रुपैयाँ सापटी लिएकी थिइन् ।

सापटी लिएको रकमको सावाँ तिरिसक्दा पनि थप ब्याज रकम भन्दै साढे ७ लाख दिनुपर्ने भन्दै दुःख दिएको उनले बताइन् । उनले ५ लाख रुपैयाँ दिएर साढे ७ लाखको चेक लगेको र सावाँ तिरिसकेपछि चेक बाउन्स भएको आरोपमा आफ्नो पति अफ्तर मियाँलाई पक्राउ गराएको बताइन् ।

गफारको उजुरीका आधारमा अफ्तरलाई प्रहरीले ९ दिन अगाडि पक्राउ गरेर हिरासतमा राखेको उनको भनाइ छ । ‘पति अख्तर मियाँले घरव्यवहार गर्न भनी अब्दुल गफारसँग ५ लाख रुपैयाँ सापटी लिने हुँदा पतिका नाममा रहेको कृषि विकास बैङ्कको साढे ७ लाखको चेक दिनू भनेपछि दिएका थियौं’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सावाँ ५ लाख रुपैयाँ फिर्ता गरेपछि चेक दिन्छु भनेको थियो, तर पटक–पटक गरेर सावाँ रकमभन्दा बढी ५ लाख ४० हजार रुपैयाँ भुक्तानी भइसकेको छ, अहिले मिटरब्याज बापत हुने चेकमा उल्लेख भए बराबरको रकम साढे ७ लान दिन दबाव दिइरहेको छ ।’

सो दबाव नमानेपछि पतिलाई पक्राउ गरिएको र हिरासतमा राखेको उनले बताइन् । ‘सावाँ रकम दिइसकेपछि चेक फिर्ता दिनभन्दा म त मिटर ब्याजमा रुपैयाँ लगाउने व्यक्ति हुँ, मेरो सावाँ पाइसकेँ अब ब्याज बापतको रकम तपाईंले दिएको चेकको हो, त्यो चेक बराबरको रकम दिनुहोस् अनि मात्र तपाईंको चेक दिन्छु भनी चेक दिन इन्कार गरेका छन्’ उनले भनिन्, ‘त्यसो भए कानूनबमोजिम ब्याज लिनुहोस् सो दिन तयार छौं, तपाईंबाट त्यस्तो मिटर ब्याजको शर्तमा रुपैयाँ लिएका होइनौं, तपाईंलाई त्यत्रो रुपैयाँ हामी गरिब मानिसले तपाईंको ५ लाख रुपैयाँको डबलभन्दा बढी दिन सक्दैनौं भन्दा धाकधम्की दिई जसरी भए पनि लिएरै छोड्छु भनी दिन प्रतिदिन मलाई मानसिक पीडा दिइरहेका छन् ।’

पत्रकार सम्मेलनमा पाँच लाखमध्ये दुई पटक २ लाखको दरले ४ लाख, पुनः ५० हजार नगद र ९० हजार बराबरको आफ्नो किराना पसलबाट गफारले सामान लगेको दाबी पनि गरिन् ।

यता मिटरब्याजी आरोप लागेका गफारले भने आफूलाई ३ महिनादेखि सावाँ रकम नै नदिएपछि निवेदन दिएर पक्राउ गराएको बताए । उनले आफूले ५ लाख नभएर साढे ७ लाख रुपैयाँ दिएको र सोही बराबरको चेक लिएको बताए । ‘मैले पैसा दिएको हो, पैसा नदिएपछि निवेदन दिएको हुँ, उनीहरूले मलाई आरोप लगाएको मात्रै हुन्’–उनले भने ।