बिर्तामोड । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापाको बिर्तामोडमा महिला ब्यवसायीले उत्पादन गरेका सामग्रीको दुइदिने ब्यापार मेला आयोजना हुने भएको छ ।

मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा र आस्वी समुहको संयुक्त आयोजनामा बिर्तामोडमा ब्यापार मेलाको आयोजना गर्न लागिएकोे शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गरेर आयोजकले जानकारी गराइएको छ ।

आगामी फागुन २३ र २४ गते हुने उक्त मेलामा झापाका महिलाले उत्पादन गरेका सामाग्रीहरुको १५ वटा स्टल रहने मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाकी अध्यक्ष निकिता खत्री प्रसाईले जानकारी दिइन् । मेलामा ‘ब्यवसायमा महिलाको भुमिका’ विषयमा तृष्णा रेग्मीले चर्चा, परिचर्चा गर्ने योजना रहेको छ । यस्तै द भ्वाइस् अफ किड्सकी उपबिजेता रोशा फुयालको सांगीतिक प्रस्तुती, प्रियङ्का शर्माको लाइभ पेन्टिङ रहने र एकता महिला बचत समुह काँकडभिट्टाका महिलाहरुको संगिनी नृत्य रहने आस्वी समुहकी संस्थापक मनस्वी पौडेलले जानकारी दिइन् ।

सोही मेलामा अपाङ्गता भएकी बिर्तामोड–२ चारपानेकी महिला व्यवसायी सिमा केसी र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाआश्रममा रहेकी जेष्ठ महिला खड्गकुमारी श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको पौडेलले बताइन् । कोरोना संक्रमण र लकडाउनले महिला ब्यवसायीलाई पारेको असर न्युन गर्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।