धरान । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली पैसा इतिहासकै कमजोर सावित भएको छ ।

पछिल्लो समय अमेरिकी मुद्रा लगातार बढिरहेका कारण नेपाली रुपैयाँ कमजोर बनिरहेको हो । नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलर हाल १ सय २२ रुपैयाँ ८४ पैसामा खरिद गरिरहेको छ भने बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएका कारण पनि नेपाली रकमको मूल्य खस्किँदै गएको हो । पछिल्लो समय रुस र युक्रेनको युद्धको प्रभाव पनि अमेरिकी मुद्रामा परेको बताइन्छ ।

नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले अमेरिकी डलरको मूल्य बढिरहेकाले पनि नेपाली रुपैयाँ कमजोर बनेको बताए । विनिमय दरका आधारमा नेपाली मुद्रा भारतीय रुपैयाँसँग मात्रै स्थिर रहने गरेको छ ।