विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको नमुना सहकारी संस्था लि.को झण्डै दुई करोड रुपैयाँ घोटाला प्रकरणमा सहकारीका स्टोरकिपर पनि पक्राउ परेका छन् । प्रहरीले धनपालथान गाउँपालिका–६ घर भएका ५४ वर्षीय सहकारीमा स्टोरकिपरको रूपमा कार्यरत सोभितनारायण राजवंशीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजवंशीको नाममा पनि सहकारीको ०७७÷७८ को लेखा परीक्षण प्रतिवेदनमा १ लाख २४ हजार रुपैयाँ बेरुजु देखाएको छ । त्यही भएर उनलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले सहकारीको २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सहकारीका प्रबन्धकसहित तीनजना कर्मचारी पक्राउ परिसकेका छन् । पक्राउ परेका सहकारीका कर्मचारीको बयानको आधारमा प्रबन्धक सलिम र स्टोरकिपर राजवंशीको पनि संलग्न रहेको खुलेपछि उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सलिमसहित चार जनालाई इप्रका रङ्गेलीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका सहकारीका लेखापाल सविलाल राजवंशीले १ करोड, सह–लेखापाल राजकुमार राजवंशीले ६० लाख र प्रबन्धक सलिमले ३० लाख रुपैयाँ रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखा परीक्षण प्रतिवेदनले सरकारी ठूलो रकम भ्रष्टाचार भएको देखाएको बताए । लेखापरीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानबिन समिति बनाइएको थियो । धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि हिनामिनामा संलग्न भएको राजवंशीको दाबी छ ।
लेखा परीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितता भएको फेला परेपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ । सहकारीको झण्डै दुई करोड रुपैयाँ सहकारीका प्रबन्धकसहित कर्मचारीहरुले २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा विभिन्न शीर्षकहरूमा सहकारीको रकम हिनामिना गरेको लेखापरीक्षण प्रतिवेदनबाट देखिएको छ ।
सहकारी २०३५ सालदेखि सञ्चालित छ भने त्यसमा ५ सय १० शेयर सदस्य आबद्ध छन् । सहकारीका अध्यक्ष गुलावचन मण्डल धनपालथान–३ का वडाध्यक्ष पनि हुन् । लेखापरीक्षण प्रतिवेदनबाट सहकारीको कर्मचारीको मिलेमतोमा ठूलो रकम हिनामिना भएको देखिएपछि प्रहरीमा किटानी जाहेरी दिएर पक्राउ गरी अहिले अनुसन्धान भइरहेको अध्यक्ष मण्डलले बताए ।