धरान । बैङ्क तथा वित्तीय संस्थाले चर्को ब्याजदर कायम गरेको विषयमा अर्थमन्त्रीलाई भेटी मोरङ व्यापार सङ्घले आइतबार ज्ञापन पत्र बुझाएको छ । 

सङ्घका निवर्तमान अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । त्यसक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई विराटनगरमै ज्ञापन पत्र बुझाएका हुन् । बैङ्कले ब्याजदर अकल्पनीय रूपमा वृद्धि गरेकाले उद्योग, व्यवसाय धान्न धौधौ परेको ज्ञापन पत्रमा उल्लेख छ । मुलुकको आर्थिक मेरुदण्ड निजी क्षेत्रका उद्योग व्यवसायहरू धरासायी हुने गरी ब्याजदर वृद्धि गरेकोप्रति आपत्ति जनाइएको छ । यसले स्वदेशी लगानी, रोजगारी र उत्पादकत्वसहित समग्र अर्थतन्त्रमा असर गर्ने भएकाले तत्काल ब्याजदरलाई कम गर्नका लागि आग्रह गरिएको छ । 

निवर्तमान अध्यक्ष मून्दडाले बैङ्कहरूले हाल संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर कायम गरेर आगामी चैतमा ११ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना रहेकाले संस्थागत निक्षेप अधिकतम ६ प्रतिशत कायम गराउन साथै तरलता अभावको समस्यालाई न्यूनीकरण गर्न माग गरिएको बताए । अर्थमन्त्री शर्मालाई हाल देखिएको समस्याको निराकरणका लागि पहल गरिदिन आग्रह गरिएको उनले बताए । 

उद्योगी मून्दडासहित महेश जाजु, पवनकुमार सारडा, विकासकुमार बेगवानी, दीपेश सुवेदी, अमित सारडालगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो । अध्यक्ष प्रचण्ड तथा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा आइतबार विराटनगरको कार्यक्रममा सहभागी हुन आइपुगेका थिए । सोही क्रममा ज्ञापन पत्र बुझाइएको हो ।