विराटनगर । मोरङ व्यापार संघले संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत व्याजदर कायम गर्न माग गरेको छ ।
व्यापार संघले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । ‘विद्यमान अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत व्याजदर कायम हुने व्यवस्थापन गरी हालको तरलता अभावको समस्यालाई केहीहदसम्म न्यूनीकरण गर्ने कार्यको तत्कालै थालनी गर्न सरकार समक्ष अपिल गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
व्यापार संघले विद्यमान अवस्थाप्रति सरकारले ठोस कदम चाल्नुपर्नेमा पनि जोड दिएको छ । ‘यस परिस्थितिलाई सामान्य दिशातर्फ उन्मूख गराउन हाल बैंकिङ क्षेत्रको तरलता अभावलाई तत्कालै अन्त्य गरिनुपर्नेमा जोड दिन चहन्छौं’, पत्रमा उल्लेख छ ।
सो सन्दर्भमा व्यापार संघले सरकारको नीतिकै कारण मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्वसहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थितिको सिर्जना भएको दाबी गरेको छ । अहिले लगानीको लागि बैंकबाट ऋण लिन, प्रतिपपत्र (एलसी) खोल्न आदिमा बैंकले कडाई गरेको, स्वदेशी उत्पादन प्रोत्साहन गर्ने नीतिको अभाव भएकोकारण उद्योग/व्यवसायहरु पूँजी अभावमा धरासायी हुने सम्भावना बढ्दै गएको पनि उद्योगीको दाबी छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले राष्ट्र बैंकको गलत नीतिका कारण २७ वटा बैंकलाई मनपरी गर्न छुट दिइरहेको आरोप लगाए । ‘हाम्रो जग्गा जमिनको लालपूर्जा खोज्ने षड्यन्त्र भइरहेको छ, राष्ट्र बैंकले २७ वटा बैंकलाई पोस्ने गरी नीति बनाइरहेको छ,’ रिजालले भने ।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले अर्थतन्त्र असफलतातिर जान लागेको बताउँदै सरकार पनि त्यही बाटोमा रहेको जिकिर गरे । पूर्व अध्यक्ष प्रकाश मुन्दडाले संस्थागत निक्षेप ६ प्रतिशत ब्याजदरमा पाउनुपर्ने जिकिर गरे ।