विराटनगर । विराटनगरका उद्योगी, व्यवसायीहरू ब्याजदर घटाउन माग गर्दैै विराटनगरस्थित नेपाल राष्ट्र बैङ्कअगाडि धर्नामा बसेका छन् ।
कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने मागसहित मङ्गलबार मोरङ व्यापार सङ्घको टोली राष्ट्र बैङ्कको प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय विराटनगरअगाडि धर्नामा बसेका हुन् ।
ज्ञापन–पत्र बोकेर गएको व्यापारीको टोलीलाई सुरक्षागार्डले रोकेपछि उनीहरू धर्नामा बसेका हुन् । निक्षेपको ब्याज ६ प्रतिशत र कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल नेतृत्वको पदाधिकारी टोली राष्ट्र बैङ्कको कार्यालय पुगेको थियो ।
ज्ञापन–पत्र बुझाउन गएको टोली धर्नामा बसेपछि राष्ट्र बैङक विराटनगरका कार्यालय प्रमुखसमेत रहेकी निर्देशक मीना पाण्डेले ज्ञापन–पत्र बुझेकी छन् । उद्योगीलाई कर्जाको ब्याजदर ‘सिङ्गल डिजिट’ कायम गर्नुपर्ने प्ले–कार्ड प्रदर्शन गर्दै व्यापार सङ्घको टोली राष्ट्र बैङ्कमा पुगेको हो ।

प्ले–कार्डसहित व्यापार सङ्घको टोली राष्ट्र बैङ्कमा जाँदा राष्ट्र बैङ्कले ज्ञापन–पत्र बुझ्न अस्वीकार गरे पनि पछि राष्ट्र बैङ्कका निर्देशक पाण्डेले गेटमा आएर ज्ञापन–पत्र बुझेकी छन् ।
व्यापार सङ्घको टोलीले गभर्नरविरुद्ध नाराबाजी गर्दै गएकोले संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न नहुने भन्दै ज्ञापन–पत्र बुझ्न अस्वीकार गरेकी थिइन् । व्यापारीले धर्नामा बसेर नाराबाजी गरेपछि निर्देशक पाण्डेले गेटमै आएर ज्ञापन–पत्र बुझेकी हुन् ।