विराटनगर । नेपाल–भारतको सीमाक्षेत्रमा बिलविजक विना मदिरा बिक्री वितरण गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वको टोलीले बिहीबार गरेको अनुगमनमा बिलविजक बिना मदिराजन्य पदार्थ बिक्री वितरण गरेको भेटिएपछि दुई सप्लायर्सलाई कारबाही गरिएको हो ।
कारबाही पर्नेमा विराटनगर–१७ को देउराली स्टोर र विराटनगर–१५ स्थित श्रेष्ठ सप्लायर्स छन् । देउरालीलाई १० हजार र श्रेष्ठ सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना गरिएको उद्योग वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
सीमाक्षेत्रमा रहेका सप्लायर्सले बिलविजक बिना भारतीय बजारमा मदिरा सप्लाइ गर्ने गरेको आरोप छ । विहारमा मदिरा प्रतिबन्धित रहेकोले लुकीछिपी खुल्ला सीमाको फाइदा उठाउँदै तस्करीमा लागेका गिरोहले भारतमा पुर्याउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालसहित मोरङ प्रहरी प्रमुख जर्नादन जिसी, सशस्त्र प्रहरी बल मोरङका प्रमुख राजकुमार लामिछाने, वाणिज्यका प्रमुख सन्तोष पोखरेल, आन्तरिक राजस्व कार्यालयका कर अधिकृतसहितको टोलीले विराटनगरको दक्षिणी क्षेत्रमा अनुगमन गरेको थियो ।
१७ वटा होटल तथा पसलहरू अनुगमन गर्ने क्रममा दुई पसललाई जरिबाना ४ वटा पसललाई निर्देशन दिएको वाणिज्यका प्रमुख पोखरेलले बताए ।
‘सीमा क्षेत्रमा मदिराको बिक्री वितरण नियमअनुसार छ या छैन, त्यसबारे अध्ययन गरेका थियाैं । तर, अनुगमनको क्रममा बिलविजक बिना मदिरा बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरिएको छ’ वाणिज्यका प्रमुख पोखरेलले भने, ‘कतिपय पसललाई सुझाव र निर्देशन पनि दिएका छौं ।’
विराटनगर–१६ दक्षिणी गेट साइडको सीमावर्ती क्षेत्रका घरहरूमा अवैध सामान ओसार–पसार गर्ने उद्देश्यले ढोका राख्ने गरेको पाइएकोले उक्त ढोकाहरू बन्द गर्न अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले निर्देशन दिएको बताए ।