धरान । ढाका कपडाको व्यावसायिक उत्पादनमा लागेर आफूलाई उद्यमीको रूपमा चिनाउने लहरमा छिन् यमुना तुम्सा संयक ।
०७५ सालमा धरान–१२ चतरा लाइनमा चौबिसे संयक ढाका उद्योग स्थापना गरेर ढाका उत्पादन गर्दै आएकी यमुनाले २५ हजार रुपैयाँ लगानीको एउटा तानबाट व्यवसाय सुरु गरेकी थिइन् । अहिले सयवटा बढी तानबाट ढाका उत्पादन गर्ने हैसियत बनाउन सफल भएकी छन् । उद्योग सञ्चालनको सुरुवाती समय भए पनि उनले मासिक ५० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म चोखो आम्दानी गर्न सफल भएकी छन् ।
उनले भनिन्, ‘मैले ढाका कपडा व्यवसायमा यति सफलता पाउँछु भन्ने कल्पना पनि गरेको थिइनँ । तर, परिश्रम गर्दै जाँदा कामले काम सिकाउँछ भनेजस्तै सिक्दै गएँ ।’ स्नातकोत्तरसम्म अध्ययन गरी धनकुटास्थित एक विद्यालयमा अध्यापन पेशामा संलग्न यमुना आगामी दिनमा ढाका उद्यममै लाग्ने सोचमा छिन् ।
ढाका कपडा उत्पादन र व्यवसायमा कसरी आकर्षित भइन् त यमुना भन्ने जिज्ञासामा उनले भनिन्, ‘खासमा म ढाका कपडा व्यवसायी बन्छु भनेर यो क्षेत्रमा लागेको थिइनँ । तर, ढाकाको कपडाबाट तयार भएका पहिरन भने मलाई औधी मन पर्ने र चासोक तङ्नाम, कक्फेवा तङ्नाम वा लिम्बू जातिको सांस्कृतिक जमघटका बेला मौलिक परम्परागत पहिरन लगाउन मन लाग्दा आफूले चाहेजस्तै पहिरन बजारमा नपाएपछि आफैले तान राखेर आफ्नै लागि कपडा तयार गर्न थालेँ । पछि साथीहरूले पनि माग गर्न थालेपछि अरूको लागि पनि त्यस्ता पहिरन बनाइदिन थालियो । गर्दागर्दै यसैमा लागियो ।’

याक्थुङ लिम्बू जातिले ढाका कपडालाई आफ्नो मौलिक हस्तकला र परम्परागत मौलिक सांस्कृतिक पहिरनको रूपमा लिने गरेका छन् । याक्थुङ मुन्धुममा जताततै युमाले तान बुनेको र कपडा तयार गरेर जाडो गर्मीदेखि लाज ढाक्न सिकाएको कथा छन् । तिनैका आधारमा ढाका कपडालाई याक्थुङ लिम्बू समुदायलेआफ्नो पहिचानसँग जोड्दै आएका छन् । अढाई दशक अघिसम्म नेपालमा पूर्वेली ढाका कपडाको व्यावसायिक उत्पादनले खासै बजार लिएको थिएन । तर, पछिल्लो समयमा विदेशी ब्राण्डका महँगा कपडासँग ढाकाले प्रतिस्पर्धा गर्न थालेको छ । नेपालको मौलिक हस्तकला भएर पनि सरकारले भने ढाका कपडाको व्यावसायिक उत्पादनलाई प्राथमिकतामा राखेको छैन ।
राज्यले वर्षमा एकपटक औपचारिक रूपमा हस्तकला उत्पादनको प्रवद्र्धन मेलाको आयोजना मात्र गरेर झारा टार्ने गरेको छ । बजारमा युवापुस्ताले ढाका कपडालाई मन पराउन थालेपछि स्वतःस्फूर्तरूपमा यसको उत्पादन हुन थालेको हो । पूर्वका धरान, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, मोरङ, झापा र काठमाडौंलगायत नेपालका विभिन्न जिल्लामा अहिले ढाका कपडाको उत्पादन हुन्छ ।
काठमाडौं र पूर्वका विभिन्न स्थानमा उत्पादित ती कपडा भारत, हङ्कङ, बेलायत, सिङ्गापुर, अमेरिका, जापान, अष्ट्रेलिया, ब्रुनाइलगायतका मुलुकमा ढाका व्यवसायीहरूकै पहलमा अनौपचारिक रूपमा निर्यात हुने गरेको छ । यमुनाको चौबिसे संयक ढाका उद्योगबाट उत्पादित ढाका कपडा र मागअनुसार तयार पारिएका पहिरन पनि यसरी नै विदेशमा रहेका नेपाली र विदेशी उपभोक्तासम्म पुग्ने गरेको छ ।
उनका अनुसार परम्परागत सीप प्रयोग गरेर सुतीको धागोबाट हातले बुनिएका ढाका कपडा जाडो र गर्मी जुनसुकै मौसममा पनि लगाउँदा उपयुक्त हुन्छ । ढाका कपडामा भरिएका गुणस्तरीय आकर्षक बुट्टाहरू सबै हातैले तानमा तयार पारिएका हुन्छन् । यमुनाले भने धागो र बुट्टाको गुणस्तरमा विशेष ध्यान दिने गरेकी छन् । उनको उद्योगबाट उत्पादित ढाकाको पहिरनमा महिलाहरूका लागि ढाका साडी, सल, बर्को, मेख्ली, जामा, गाउन, कोट, लेहेङ्गाचोली, ब्याग र पुरुषका लागि टाई, इष्टकोट, कोट, जुवारी कोट, सर्ट, जुत्ता तयार हुने गरेको छ ।
यमुनाले ढाकासम्बन्धीका विभिन्न तालिमसमेत दिँदै आएकी छन् । उनले भनिन्, ‘उद्योगमा धरान, धनकुटा, लेटाङ, तेह्रथुमका विभिन्न उमेरका सयजना महिला दिदीबहिनीले काम गर्ने अवसर पाएका छन् ।’ उद्योगमा तानबाट ढाका कपडा उत्पादनमात्र नगरेर सिलाइ, बुनाइ, कटिङ गरेर आकर्षक डिजाइन तयार गर्ने ४ जनालाई पसलमा रोजगारी पनि दिएकी छन् । उनले आफ्नो बहिनी नुमा तुम्सा संयकलाई पनि रोजगारी सिर्जना गरिदिएकी छन् ।
उनको उद्योगमा आबद्ध कामदारहरूले आफ्नै घरमा बसी कम्तिमा मासिक १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको ढाका कपडा बुनेर कमाउने गरेका छन् । यसरी तानमा ढाका कपडा तयार गर्नेहरू क्याम्पस पढ्दै गरेका छात्रादेखि गृहिणीहरू छन् । कमजोर आर्थिक अवस्था भएका महिलाहरूका लागि आन्तरिक आय आर्जन गर्ने माध्यम भएको छ भने राम्रै आर्थिक स्थिति भएका महिलाहरूका लागि ढाका बुनेर परम्परागत सीप र समयको सदुपयोग गर्दै अरितरिक्त आय आर्जन गर्ने माध्यम बनेको छ ।
आफूले मन पराएको पेशा व्यवसायमा परिवारसँगै स्वदेशमै बसेर लगनशील भई मेहनत गर्दै कमाएको आफ्नो आम्दानीबाट सन्तुष्ट भएकी यमुनाले आफू उद्यमी, व्यवसायी बन्दै अन्य महिला दिदीबहिनीहरूका लागि पनि रोजगारी सिर्जना गर्दै जाने लक्ष राखेको बताइन् । उनले भनिन्, ‘विभिन्न सङ्घ–संस्थाले मलाई ‘नोटिस’ गरेर बेला बखतमा सम्मानको भागिदार बनाउँदा थप हौसला मिलेको छ ।’ उनलाई गत फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला सञ्जाल धरानले उद्यमी महिलाका रूपमा सम्मानित गरेको थियो ।
(प्रशिक्षार्थी पत्रकार)