धरान । धरान मदिरा व्यवसायी सङ्घको आठौं वार्षिकोत्सवको अवसरमा अग्रज मदिरा व्यवसायीसहित पत्रकारलाई सम्मानित गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार आयोजित कार्यक्रममा अग्रज मदिरा व्यवसायी सुनिल श्रेष्ठसहित नागरिककर्मी रोहित राई र उत्कृष्ट कारोबार गर्नेतर्फ गोर्खा ब्रुअरी प्रालिका कर्मचारी कृष्ण अधिकारीलाई सम्मानित गरिएको हो । नागरिकर्मी राईलाई नगद १० हजार रुपैयाँसहित सम्मान–पत्रले सम्मानित गरिएको अध्यक्ष नवीनकुमार तामाङले बताए ।
सङ्घले हरेक वर्ष अग्रज मदिरा व्यवसायी, पत्रकार तथा उत्कृष्ट कारोबार गर्नेमध्ये एकलाई सम्मानित गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम शेर्पा र अध्यक्ष तामाङले सम्मानितहरूलाई सम्मान–पत्रसहित दोसल्ला ओढाई सम्मानित गरेका थिए ।
यसैबीच सङ्घले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरेको छ । संस्थाकी कोषाध्यक्ष जीया राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्ययबारे जानकारी गराइन् । कार्यक्रममा प्रदेश १ मदिरा व्यवसायी सङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले मदिरा उत्पादक कम्पनीसँग विभिन्न माग लिएर आफूहरू प्रस्तुत हुनलागेको बताए ।

उनले ठूल्ठूला सुपरमार्केटहरूले कम्पनीसँग सिधै कारोबार गर्दा त्यसको प्रत्यक्ष असर थोक बिक्रेताहरूलाई परिरहेको बताए । त्यस्तै रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष तुलसी वस्तीले कारोबार गर्नुमात्रै ठूलो कुरा नभई लेखा व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।