धरान । आफूले बचतका लागि राखेको रकम मागेको बेला नदिएपछि आइतबार धरान–७ का एक व्यक्ति वराह बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पुगेर आत्महत्या प्रयास गरेका थिए । हातमा डोरीसहित पुगेका उनले धनकुटेमार्गस्थित सहकारीको भव्य कार्यालयमा पुगेर झुण्डिने प्रयास गरेका थिए ।

सहकारी सञ्चालक समितिका सदस्य गङ्गा कालीकोटेले अफिसमा ३ दिनपछि आउनू भनेर बोलाएपछि ती बचतकर्ता पुगेका थिए । तर, अफिसमा पुगेर कालीकोटेलाई फोन गर्दासमेत नउठाएपछि तनावग्रस्त भएर ती बचतकर्ताले आत्महत्या प्रयास गरेका थिए । उनले आफ्नो परिचय नखुलाइदिन अनुरोध गर्दै भने, ‘वराह सहकारीमा १५ लाख रुपैयाँ राखेको थिएँ । छोरालाई विदेशमा उच्चशिक्षा पढाउनु पर्ने भएकाले आफूले राखेको रकम झिक्न आएको थिएँ । मैले पैसा नदिए सहकारी कार्यालयमै आएर आत्महत्या गर्छु भनेर गङ्गा कालीकोटेलाई पनि फोनमा जानकारी दिएको थिएँ । अफिसमा पुग्दा कालीकोटेले फोन उठाएनन् ।’

पछिल्लो ४ महिनायता धरानको वराह सहकारीले कुनै पनि बचतकर्तालाई एक पैसा पनि दिन सकेको छैन । ब्याजको त कुरै छैन । गत माघदेखि सहकारीको काउण्टरबाट कुनै पनि आर्थिक कारोबार भएको छैन । सहकारीमा शेयर सदस्यहरू कति जना छन्, त्यो खुल्न सकेको छैन । कसैले १३ हजार शेयर सदस्य, कसैले ८ हजार त कसैले ५ हजार शेयर सदस्य रहेको बताएका छन् । सहकारीले रकम दिन नसकेपछि दुई महिनादेखि बचतकर्ताहरूको भीड लाग्ने गरेको छ ।

बचतकर्ताहरूलाई आफ्नो रकम डुब्ने चिन्ताले सताएको छ । धरान–७ की अनिता प्रधानले भनिन्, ‘०६६ सालमा २२ लाख रुपैयाँ राखेको थिएँ । ४ महिनाअघिसम्म ब्याज दिँदै थियो । तर, एकाएक ब्याज दिन छाडेपछि पैसा डुब्न लागेको चिन्ताले सताएर अब वराहको अफिस तोडफोड गर्छु भन्दा सुटुक्क ५ हजार रुपैयाँ दिए ।’

उनले आफूले राखेको रकम नदिए पनि ब्याज दिन भनेको र ब्याज पनि नदिए वराह ग्रुप कम्पनी अन्तर्गत सञ्चालित सपिङ कम्प्लेक्सबाट ब्याज बराबरको खाद्यान्न, लत्ताकपडा वा अरू सामान देऊ भन्दा पनि नदिएको बताइन् । उनले आफ्नो पैसा माग्न जाँदा पनि भिख मागेजस्तो गर्नु परिरहेको बताइन् । सहकारीका पदाधिकारी र कर्मचारीहरू बचतकर्ताको पैसामा मोजमस्ती गर्ने तर, आफूहरूलाई पानीसम्म नदिने प्रवृत्ति देखाएको उनले बताइन् ।

अहिले चाहिएको बेला पैसा नदिने सहकारीका अध्यक्ष मानबहादुर दियालीले आफूलाई २ वर्षसम्म पर्खन भनेको र त्यसपछि २ प्रतिशत ब्याज थपेर पैसा दिने प्रलोभनमात्र देखाइरहेको प्रधानले बताइन् । धरान–१३ का विशाल मगरलाई सहकारीले २ महिनाको भाखा राखेको थियो । उनले घर बनाउनका लागि जग्गा बेचेका थिए तर, जग्गा बेचेर आएको १० लाख रुपैयाँले घर नबनिने भएपछि तत्कालका लागि उक्त रकम वराह सहकारीमा राखेका थिए । उनले भने, ‘वराहमा पैसा डुबाउनका लागि जग्गा बेचेजस्तो भयो । घर पनि अब नबनिने भयो ।’

पाँच वर्षअघि धरान–१३ का गोपाल तामाङले १५ लाख ४० हजार रुपैयाँ राखेका थिए । सहकारीले उनलाई मासिक रूपमा २३ हजार १ सय रुपैयाँ ब्याज दिँदै आएको थियो । आफ्नो हातको अप्रेसन गर्नुपर्ने भएपछि सहकारीमा राखेकोमध्ये केही रकम र ब्याज माग्न जाँदा पैसा छैन भनेर खालीहात पठाएपछि थप तनावग्रस्त भएको तामाङले बताए ।

वराह सहकारीमा शेयर सदस्यहरूले १० हजार रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म राखेको बताइएको छ । तीन महिनाअघि सहकारीको १२ औं वार्षिक साधारणसभामा खुद मुनाफा ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ देखाएको थियो । त्यसबेला संस्थाको शेयर सदस्य ५ हजार १ सय १७ जना रहेको पनि बताइएको थियो । सहकारीले सार्वजनिक गरेको प्रतिवेदनमा शेयर पुँजी १० करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ, निक्षेप सङ्कलन ७२ करोड १९ लाख ८४ हजार ६ सय ४४ रुपैयाँ, ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ  रहेको उल्लेख छ ।

करोडौं रुपैयाँ वराह सहकारीमा राखे पनि मागेको बेला रकम नदिएपछि चिन्तित बचतकर्ताहरूले हालसम्म न धरान उपमहानगरपालिकाको सहकारी नियमन गर्ने संस्था सहकारी विकास समितिमा उजरी दिएका छन्, न त कानूनी उपचारको खोजी नै गरेका छन् । वराह गु्रपले करिब १ वर्षअघि धरानको धनकुटेमार्गस्थित गोर्खा सपिङ कम्प्लेक्सको जग्गा र भवन खरिद गरेपछि आर्थिक समस्या उत्पन्न भएको बताइएको छ । वराह ग्रुपको सहकारीसहित भानुचोकमा आफ्नै सपिङ कम्प्लेक्स पनि छ ।

सञ्चालकहरूले सहकारीलाई नाफामा गएको देखाए पनि बचतकर्ताको पैसा नदिएपछि झन् शङ्कास्पद देखिएको बचतकर्ताहरूले बताएका छन् । यसैबीच सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा (दियाली)ले चैत १ गते एक सार्वजनिक सूचना जारी गर्दै भनेका छन्, ‘सदस्यहरूको भुक्तानी रोकिएकोमा चैत २२ गतेदेखि नगद भुक्तानी सेवा सञ्चालन हुने प्रतिबद्धता गर्दछौं । यदि नगद भुक्तानी गर्न नसकेमा सञ्चालक समितिले आफ्नो व्यक्तिगत जायज्यथाबाट भुक्तानी गरिदिने जानकारी गराउँछौं ।’

सहकारीका अध्यक्ष विश्वकर्माले सहकारीको व्यवस्थापन गर्न आफूहरू चुकेको स्वीकारे । उनले भने, ‘सहकारीले लगानी गरेका ठाउँबाट कोरोना महामारीको कारण ऋण उठाउन सकिएन । लगानी गरेको ऋण उठाउन नसकेपछि बचतकर्ताले मागेजति नगद प्रवाह गर्न सकेनौं । नगद प्रवाह गर्न नसक्दा बचतकर्ताहरूले वराह डुब्यो, अब भाग्छ भन्ने सोच्नु स्वभाविक हो । तर, समाधानको प्रयास जारी राखेका छौं । बचतकर्तालाई नगद प्रवाह गर्नका लागि पहिले लगानी गरेका ठाउँबाट उठाउने प्रयास भइरहेको छ । बचतकर्ताको नगद र विश्वासलाई डुब्न दिँदैनौं ।’

वराह ग्रुपमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल वराह मिनी मार्केट एलएलसी, वराह बालसंसार, वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि., वराह फेमिली किचन, चितवनमा नारायणी वराह ज्वेलरी नारायणी, गोर्खा वराह ज्वेलरी पोखरा, इन्द्र वराह ज्वेलरी हङ्कङ, इन्द्र वराह ट्राभल्स एण्ड टुर्स, कृपा दृश्य डिजिटल प्रा.लि. रहेका छन् ।