विराटनगर  । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय विनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान बनाएका दुवै नेताको प्रतिस्पर्धाले यो क्षेत्रलाई तताएको छ ।

संविधानसभा र संसद्मा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा थारु, मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका माओवादी नेता तथा निवर्तमान सांसद मोदी र ढकालको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ को चुनावमा अर्थशास्त्रका ज्ञाता मानिएका काँग्रेसका महेश आचार्यलाई मोदीले हराएका थिए । वाम गठबन्धनको सहयोगमा यसअघिको चुनावमा  मोदीले आचार्यलाई पराजित गरेका थिए । यस पटक एमालेका ढकालसँग प्रतिस्पर्धा गर्दै छन् । ढकाल प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा नयाँ उम्मेदवार हुन् ।

मोदी यस पटकको चुनावमा पनि  आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । २०७० मा समानुपातिक र २०७४ मा निर्वाचित भई यस पटक पनि मोदीले ह्याट्रिक गर्दै तेस्रो पटक संसद् छिर्ने दाउमा छन् । यस पटक जसपा सँग गठबन्धन गरेर चुनावमा होमिएको एमाले नेता ढकाल पहिलो जितको खोजीमा छन् ।

यस्तो छ अङ्क गणित
मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ वडा पर्दछ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत अनुसार एमालेले २५ हजार ७३०, काँग्रेस २१ हजार ८९४, माओवादी ९ हजार ९९०, राप्रपा ४ हजार ६७४, जसपा ३ हजार ११२ र नेकपा एसले १ हजार २५५ मत ल्याएका थिए ।