सुनसरी । असोज २३ गते मनोनयन दर्ता गराएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै चुनाव प्रचार–प्रसारमा लागेका छन् ।
नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपालसहित विभिन्न राजनीतिक दलहरूका साथै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारहरू चुनावी अभियानमा जुटेका हुन् ।
निर्वाचन क्षेत्रमा उनीहरूको उपस्थितिसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको गाउँ गाउँका चोक तथा चिया पसलदेखि सबै ठाउँमा चर्चा सुरु भएको छ । निर्वाचनको मिति आउन एकमहिनाभन्दा अगाडिदेखि यहाँका मतदाताहरूले चुनावी बहसलाई तीव्रता दिएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ चारवटा र प्रदेशसभा सदस्यतर्फ आठवटा क्षेत्र रहेको सुनसरीमा यसपटक कुन क्षेत्रबाट कुन पार्टीका उम्मेदवारले जित्ने भन्ने बहस मतदाताहरूले गर्न थालेको सुनसरी बहुमुखी क्याम्पस इनरुवाका राजनीतिक शास्त्रका प्राध्यापक श्यामप्रसाद साह बताउँछन् ।

‘मनोनयन दर्ता गराएका उम्मेदवारहरूले चुनाव चिह्न पाएपछि उनीहरू आ–आफ्नो क्षेत्रका मतदाताहरूकहाँ पुग्न थालेका छन्’–उनले भने । गाउँ–गाउँमा केही दिनयता राजनीतिक पार्टीलगायत अन्य स्वतन्त्र उम्मेदवारहरू पुग्न थालेपछि मतदाताहरूले पनि बहस गरिरहेका छन् । विगतका कयौं निर्वाचनमा आश्वासन दिएर मतदाता कन्भिन्स गराउने उम्मेदवारहरूलाई यसपटकको निर्वाचनमा जित्न मुस्किल हुने साहको भनाइ छ ।
‘हरेक निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूले निर्वाचनका बखत घोषणा–पत्रमार्फत् आश्वासन बाँड्ने काम गर्छन्’ उनले भने, ‘तर, यथार्थमा आमजनताका आधारभूत आवश्यकतासमेत पूरा गरिएको वा भएको पाइँदैन । त्यसैले विगतमा गरिएको आश्वासन पूरा नगर्ने उम्मेदवारहरूलाई जनता पत्याउने पक्षमा छैनन् ।’ राजनीतिक दल तथा अन्य उम्मेदवारहरू नेताकार्यकर्ता, समर्थकसहित गाउँ –गाउँमा चुनावी सभा गरी घरदैलोमा मतदाता रिझाउन व्यस्त देखिन्छन् ।
विभिन्न राजनीतिक दलहरूले निर्वाचनलाई लक्षित गर्दै भातृ सङ्घ–सङ्गठनसहित गाउँ केन्द्रित घरदैलो अभियानमा जुटेको सुनसरी क्षेत्र नम्बर ४ (ख) का उम्मेदवार हाजी इसराइल मन्सुरीले बताए । उम्मेदवार मन्सुरी भन्छन्, ‘हामी ग्रामीण क्षेत्रका गाउँ–गाउँमा नेता कार्यकर्ता लिएर घरदैलोमा थालेका छौं ।’
यता नेकपा (एमाले), जसपा, राप्रपासहित स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि गाउँ तथा घरदैलो अभियानमा जुटेका छन् । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमध्ये नेपाली काङ्ग्रेसले २, ३ र ४ गरी तीनवटा क्षेत्र जितेको थियो भने तत्कालीन बामगठबन्धनको तर्फबाट नेकपा (एमाले)का उम्मेदवारले एउटा क्षेत्र जितेको थियो ।