धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने आफ्ना उम्मेदवारहरूलाई जितको शुभकामना व्यक्त गरेको छ ।

शुक्रबार धरानमा सुनसरी जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा उम्मेदवारहरूलाई शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक भूपेन्द्रसुन्दर लावतीको सभापतित्व र पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक)को प्रमुख आतिथ्यमा  सम्पन्न कार्यक्रममा सुनसरी जिल्लाबाट प्रत्यक्षमा उठेका उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरिएको हो ।

कार्यक्रममा पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सरस्वती सुब्बा, क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्य उम्मेदवार भोलामान बर्देवा, १ (२) प्रदेशसभा सदस्य उम्मेदवार प्रेमबहादुर लिम्बू ओन्छोङ्बो, क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनकुमार विश्वकर्मा, क्षेत्र नं. २(१) प्रदेशसभा सदस्य उम्मेदवार पदम तामाङ, क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य उम्मेदवार राजदेवी ऋषिदेव, क्षेत्र नं.३ (१) प्रदेशसभा सदस्य उम्मेदवार दिलिता सम्बाङ्फे, ३(२) प्रदेशसभा सदस्य उम्मेदवार कम्लेशकुमार साह, क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सदिप मियाँ, ४ (१) प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर लिम्बू नेम्वाङ, ४(२) प्रदेशसभा सदस्य उम्मेदवार अब्बास मियाँ सहभागी थिए ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ले ठूला दलका नेताहरूले देश खोक्रो बनाइसकेको र आम नागरिकले महँगी, असुरक्षा भोग्नुपरेको बताए ।

सोही कार्यक्रममा बोल्दै  पार्टीका उपमहासचिव भूपेन्द्रसुन्दर लावतीले राजनीतिक दलहरूले निर्वाचनका बेला विकासका कुरा उठाए पनि काम भने नगरेको बताए । उनले मञ्चले देशलाई समृद्ध बनाउने र देशमा रोजगारीको सिर्जना गर्ने एजेन्डासहित चुनावमा होमिएको बताए ।