विजयपुर । किरात राई यायोक्खा (किराया) ले १ नं. प्रदेशको नाम ‘किरात’ राख्न पहल गर्ने राजनीतिक दलका उम्मेदवारलाई भोट दिने भएको छ ।

किरायाको असोज ८ र ९ गते सम्पन्न महाधिवेशनको ‘भक्तपुर बोडे घोषणा–पत्र’ शनिबार इटहरीमा सार्वजनिक गर्दै किरात प्रदेश नामकरण गर्नेलाई भोट दिन आह्वान गरेको छ । किरायाको ११ औँ राष्ट्रिय महाधिवेशनको २१ बुँदे घोषणा–पत्रबारे प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो ।

यायोक्खाले राष्ट्रिय समावेशी आयोगको आरक्षण खारेज गर्नुपर्छ भन्ने प्रतिवेदन सच्याउन माग गरेको छ । किरात भाषा तीनै तहका सरकारी कामकाजको भााषामा  प्रयोगमा ल्याउन पनि माग गरेको छ । धर्म निरपेक्षताको पूर्ण कार्यान्वयन गर्न, अन्तर्राष्ट्रिय अभिसन्धि आईएलओ १६९ को पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

यस्तै भोजपुरको हतुवागढीस्थित नेपाली सेनाकोे ब्यारेक र खोटाङ मझुवागढीको सशस्त्र प्रहरीको ब्यारेक हटाउन माग गरेको छ । त्यस्तै सहिद रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न, खुवालुङको दीर्घकालीन संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न माग गरेको छ ।

किरायाले १ नं. प्रदेशको नाम किरात राख्न माग गरेको छ । निर्वाचनमा सहभागी राजनीतिक दलको घोषणा–पत्रमा ‘किरात प्रदेश’ राख्न माग गरिएको छ ।

शनिबार इटहरीको तायारिप्ची(ज्ञानगति) भवनमा आयोजित पत्रकार सम्मेलनमा यायोक्खाले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । पारसमणि राईको अध्यक्षतामा १४ सदस्यीय १ नम्बर प्रदेश कार्यसमिति गठन भएको छ । नवगठित कार्यसमितिलाई किरायाका पूर्व केन्द्रीय अध्यक्ष तथा निर्वाचन मण्डलका अध्यक्ष तिलक राईले सपथ ग्रहण गराएका थिए ।

यसैबीच यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले १ नं.प्रदेश कार्यसमितिको कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा १ नं.प्रदेशभरिका यायोक्खाका जिल्ला अध्यक्ष र सचिवहरू सहभागी रहेको यायोक्खाका प्रदेश सचिव राम माण्डुपा राईले जानकारी दिए ।