बिर्तामोड । पार्टीले राप्रपासँग चुनावी तालमेल गरेको बिरोध गर्दै नेकपा एमालेका झापा क्षेत्र न ३ का नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम बढेको छ ।

पार्टीले निर्वाचन जित्ने अवस्था रहँदा रहँदै राप्रपासँग चुनावी तालमेल गरेको भन्दै असन्तुष्ट बनेका एमालेका नेता तथा कार्यकर्ताले पार्टी छोडेका हुन् । उनीहरुले पटक–पटक राप्रपालाई भोट हाल्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

राप्रपा र एमालेबीच २०७४ सालको निर्वाचनमा पनि तालमेल भएको थियो । यो निर्वाचनमा एमालेको आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाइने आशा गरेका त्यस क्षेत्रका नेता कार्यकर्ताहरु फेरी पनि राप्रपासँग समीकरण भएपछि पार्टी परित्याग गर्न थालेका हुन् ।

यसैक्रममा सोमबार मात्रै विभिन्न जिम्मेवारी सम्हालेका एमालेका युवा तथा विद्यार्थी सङ्गठनका चार जना नेतृत्वले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल हल्दीबारी गाउँकमिटीका अध्यक्ष अनिल मेचे, सचिव मनोज सुवेदी, अनेरास्ववियु हल्दीबारी गाउँकमिटीका अध्यक्ष विजय राई र सचिव अभिषेक खतिवडाले पदबाट राजीनामा दिई पार्टी परित्याग गरेका हुन् ।

पार्टीले फरक राजनीतिक आस्था र फरक विचार राख्ने राजनीतिक दल राप्रपासँगको निर्वाचनको तालमेल गरेको आफूहरूलाई स्वीकार्य नभएको र पार्टी कमिटी र पार्टी नेताहरूको केही हर्कतका कारण पार्टी परित्याग गरेको उनीहरूले बताएका छन् ।

उनीहरूले आफूहरू स्वतन्त्र बस्ने बताए पनि झापा –३ बाट बागी उम्मेदवारी दिएका दिएका डम्बर बहादुर गिरीलाई सहयोग गर्ने अनुमान गरिएको छ । आसन्न निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका गिरीले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका छन् । यसरी एमालेका नेता तथा कार्यकर्ताहरूले धमाधम पार्टी परित्याग गर्दा राप्रपा अध्यक्ष लिङ्देन भने समस्यामा परेका छन् ।

एमालेले त्यस क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाउने सहमति छ भने राप्रपाले झापामा अरु स्थानीय तहमा एमाालेलाई भोट दिने छ । झापा–३ को प्रदेशसभामा भने एमालेका आफ्नै उम्मेदवार छन् ।