भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ का कार्यकर्तालाई हलोमा भोट दिन निर्देशन दिएका छन् ।
नेकपा (एमाले) र राप्रपाले शुक्रबार भद्रपुरमा संयुक्त रूपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले हलोमा भोेट हालेर गठबन्धनका उम्मेदवारलाई हराउन आह्वान गरेका छन् । ओलीले देशप्रति माया नभएका, विकासको कुनै वास्ता नभएको गठबन्धनलाई चुनावमा पराजित गर्नुपर्ने उनको भनाइ थियो । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई एमालेले आफ्नो इज्जतका लागि पनि चुनावमा जिताउनुपर्ने उनले बताए ।
क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका ओलीले मङ्सिर ४ गतेको चुनावपछि देशमा एमालेको बहुमतको सरकार बन्नेसमेत दाबी गरे । एमालेको बहुमत आए पनि साथमा राप्रपा र जसपासमेतको सरकार बन्ने उनले प्रतिबद्धता जनाए । सरकारमा राजेन्द्र लिङ्देन गएपछि विकास खोइ भनेर हिसाबकिताब माग्न मतदातालाई उनले सुझाए । ‘देशको विकास गर्न, देशमा शान्ति सुव्यवस्था कायम गर्न, देशलाई समृद्धि र जनतालाई सुखी बनाउन सरकारमा जाने हो’–उनले भने । एमाले सरकारमा हँुदा विकासका कामले निरन्तरता पाइरहेको अवस्थामा अदालतले बनाइदिएको सरकार आएपछि ‘धुरीमाथि गिद्ध बस्यो, अलच्छिन पस्यो’ भनेजस्तै सबै विकास बन्द भएको उनले बताए ।
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले २०७४ सालको निर्वाचनमा १४ हजार मतले हराएकालाई यसपल्ट ४० हजार मतले हराउने दाबी गरे । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका लिङ्देनले राजनीतिलाई अपराधीकरण गर्ने, रुपैयाँ र पैसाले सबैथोक गराउने, विदेशीको आशीर्वाद प्राप्त गरेपछि सबै थोक पूरा हुन्छ भन्ने जुन प्रवृत्ति छ, त्यसलाई पनि अन्तिम चोटी यस क्षेत्रमा घुँडा टेकाउनु पर्ने बताए ।

कार्यक्रममा एमालेको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार वसन्त बानियाँ र छविलाल चूडालले समेत प्रतिबद्धता मन्तव्य राखेका थिए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहनेछन् । आगामी ४ मङ्सिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ ।
अध्यक्ष ओलीले शुक्रबार क्षेत्र नम्बर ३ स्थित भद्र्रपुुरमा एमाले र राप्रपाले संयुक्त रूपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला, क्षेत्र नं. ५ को दमकमा आयोेजित दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गरे । यसैगरी अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोड, दमकस्थित पशुपति मन्दिरमा वडा नं. ६ र ७ का मतदाताहरूसँग अन्तरक्रिया र सम्बोधन गरे । उता १४ कात्तिक बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।