भद्रपुर । मङ्सिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाबाट उम्मेदवारी दिएका १ सय ९२ मध्ये प्रतिनिधिसभातर्फका २० जना उम्मेदवारले आफैलाई मत हाल्न नपाउने भएका छन् ।

उम्मेदवारको मतदाता नामावली जुन क्षेत्रमा छ, त्यही क्षेत्रबाट मात्र मत खसाल्न पाउने निर्वाचन आयोगको नियमका कारण उनीहरूले आफैलाई मत हाल्न नपाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्कअनुसार राम सुफल कामती, महेन्द्र खायमली, रेशमा चेम्जुङ, त्रिनारायण राजवंशी, कृष्णगोपाल छुस्यवाग, श्यामबहादुर लिम्बू, अकलबहादुर तामाङ, राजकुमार तामाङ लामा, गजेन्द्र लिम्बू, नन्दराज राई, मनोरथ राजवंशी, विक्रम कासिछुवा, अग्नि खरेल, कृष्णप्रसाद सिटौला, सानबहादुर मेचे, केपी शर्मा ओली, दीपककुमार पाठक, राजन चुडाल, रामचन्द्र बानियाँ र दिलिप धिमालले आफूलाई मत हाल्न नपाउने भएका हुन् ।

उम्मेदवारको विवरणअनुसार झापा १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलको मतदाता नामावली झापा २ मा छ । क्षेत्र नम्बर २ बाट मङ्गोल नेसनल अर्गनाइजेसन नेपालका अकलबहादुर तामाङ, २ बाटै नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायमली, स्वतन्त्र उम्मेदवार राजकुमार तामाङ लामा, जनता समाजवादी पार्टीका रामसुफल कामती, २ बाटै उम्मेदवार दिएकी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रेश्मा चेम्जुङ र लोकतान्त्रिक समाजवादीका त्रिनारायण राजवंशीले आफूलाई मतदान गर्न पाउने छैनन् ।

मङ्गोल अर्गनाइजेसनका तामाङको नामावली क्षेत्र नम्बर १ मा छ भने खायमलीको मतदाता नामावली भक्तपुर ८ मा छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार लामाको मतदाता नामावली काठमाडौँको बूढानिलकण्ठ ११ मा छ । यता लोकतान्त्रिक समाजवादीका राजवंशीको मतदाता नामावली क्षेत्र नम्बर ४ मा रहेकाले आफैलाई मत हाल्न नपाउने भएका हुन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुसियावागको भक्तपुर ८ मा, राष्ट्रिय जनमुक्तिका गजेन्द्र लिम्बूको नामावली आठराई त्रिवेणी गाउँपालिका–५ ताप्लेजुङमा रहेको छ । क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका मङ्गोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बूको झापा १ मा नामावली रहेको छ भने सत्तारुढ दल तथा नेपाली काङ्ग्रेस गठबन्धनबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौलाले पनि आफूलाई  मतदान गर्न पाउने छैनन् । नेता सिटौलाको मतदाता नामावली क्षेत्र नम्बर १ भद्रपुर–१० मा रहेको छ ।

त्यस्तै मनोरथ राजवंशीको क्षेत्र नम्बर २ मा नामावली रहेको छ । राजवंशीले प्रतिनिधिसभा सदस्य पदका लागि क्षेत्र नम्बर ३ बाट स्वतन्त्रको तर्र्फबाट उम्मेदवारी दिएका छन् । उता क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मङ्गोल नेसनल अर्गनाइजेसनका दिलिप धिमालको क्षेत्र नम्बर १ मा, स्वतन्त्रबाट उम्मेदवारी दिएका नन्दराज राईको इटहरी उपमहानगरपालिका–२ सुनसरी र नेपाल मजदुर किसान पार्टीका विक्रम कासीछुवाको भक्तपुर नगरपालिका–९ मा नामावली रहेकाले उनीहरू पनि आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा मतदान गर्नबाट बञ्चित भएका छन् ।

यता एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सूर्य विनायक नगरपालिका–२ भक्तपुरमा नामावली रहेको छ । ओलीले प्रतिनिधिसभा सदस्य पदका लागि क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । ओलीले आफ्नो मत आफूलाई दिन पाउँदैनन् । त्यसैगरी स्वतन्त्रबाट उम्मेदवार दिएका दीपककुमार पाठकको नागार्जुन नगरपालिका–५ काठमाडौंमा नामावली रहेको छ भने उनले क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । ५ बाट नै नेसनलिस्ट पिपल्स पार्टीका राजन चुुडालले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।

चुडालको झापा २ मा नामावली रहेको छ ।झापा नेसनलिस्ट पिपल्स पार्टीका रामचन्द्र बानियाँको पनि क्षेत्र नम्बर २ मा  नामावली रहेको छ । उनले क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । सानबहादुर मेचेको क्षेत्र नम्बर १ मा नामावली छ भने उनले क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी दिएका छन् ।

झापामा पुरुष ३ लाख ३१ हजार ४४, महिला मतदाता ३ लाख ३२ हजार २ सय ५९ र ९ जना तेस्रो लिङ्गी गरी जम्मा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

जिल्लाका १५ ओटा स्थानीय तहमा रहेका २ ओटा अस्थायी मतदान स्थलसहित २ सय ८७ ओटा निर्वाचन स्थलमध्ये ९५ ओटा मतदानस्थललाई अति सम्वेदनशील, १ सय ४४ ओटा मतदानस्थललाई सम्वेदनशील र ४६ ओटा मतदान स्थललाई सामान्य गरेर वर्गीकरण गरिएको प्रमुख नेपालले जनाए । त्यसैगरी मतदान केन्द्रतर्फ सामान्य १ सय १४, संवेदनशील ३ सय ८१ र अति संवेदनशील २ सय ७१ ओटा रहेका छन् । अस्थायी मतदान स्थलमा मेची रङ्गशाला भद्रपुर र झापा कारागार तोकिएका छन् ।