धरान । आसन्न निर्वाचनमा तालमेल गरेर अगाडि बढेको एमाले र जसपाले सुनसरी १ मा निर्वाचन परिचालन कमिटी र कार्यालय एकसाथ उद्घाटन गरेको छ ।

धरानको ५ नम्बर वडामा निर्वाचन परिचालन कमिटी र कार्यालय खोलिएको हो । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको निर्वाचनका लागि चन्द्र भुजेलको संयोजकत्वमा १ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको हो । एमाले र जसपाको तालमेलबाट सुनसरी १ मा प्रतिनिधितर्फ अशोक राई र प्रदेशसभा (क) मा रमेश बस्नेत र (ख) मा विजय राई चुनावी मैदानमा छन् ।

निर्वाचन परिचालन कमिटीको सह–संयोजकमा चन्द्र सोताङ, सचिवमा विजय राई, सह–सचिवमा निशा दाहाल र कोषाध्यक्षमा सुनिता राईलगायत छन् ।

प्रतिनिधिसभाका उम्मेदवार अशोक राईले चुनावी तालमेलले दुवै राजनीतिक शक्ति ‘जित जित’ को अवस्थामा रहेको बताए । उनले सुनसरी १ मा एमालेले जसपालाई सघाएको र सुनसरीका अन्य तीन क्षेत्रमा जसपाले एमालेलाई सघाएको बताए । यता प्रदेशसभा (क) का उम्मेदवार रमेश बस्नेतले चुनावपश्चात् एमाले र जसपाको सरकार बन्ने ठोकुवा गरे । उनले कार्यक्रममा मतदान गर्ने तरिका पनि सिकाएका थिए । कार्यक्रममा एमाले तथा जसपाका सुनसरी १ का शीर्षनेताहरू उपस्थित रहेका थिए ।