विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिकांश पुरानै कामको फेहरिस्त सुनाउँदै एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको एक सय दिने उपलब्धि मङ्गलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको उपलब्धिको रूपमा अधिकांश पुरानै कामको निरन्तरतालाई उपलब्धिमा समावेश गरेका छन् । उनले मन्त्रालयको सङ्ख्या कटौती र प्रदेशको नाम राख्नुलाई मुख्य उपलब्धि ठानेका छन् । मुख्यमन्त्री कार्कीले मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर ९ मा झारेका छन् । त्यस्तै गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ । सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको पनि मुख्यमन्त्री कार्कीले बताए ।

१५ वटा स्थानीय तहहरूको अद्यावधिक योजना निर्माण अगाडि बढेको, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको पनि मुख्यमन्त्रीको सय दिनको उपलब्धिमा उल्लेख छ । सय दिनको समयमा प्रदेशसभाबाट दुईवटा विधेयक पास भएको, चारवटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको र चारवटा नियमावली स्वीकृत गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

‘एक सय दिनमा के नै काम हुन्छ र ?, यो सार्वजनिक गर्नु भनेको बिरालो बाँधेर श्राद्ध गरेजस्तै मात्रै हो’ उनले प्रारम्भमै यस विषयलाई स्वीकार गरे । यस्तै कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको र कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापनसम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धिमा राखिएको छ । यस्तै आर्थिक क्षेत्रमा प्रदेश अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयहरूको चालु खर्चको २५ प्रतिशत खर्च कटौती गरी स्रोत व्यवस्थापनको प्रयास गरिएको, प्रदेशको आन्तरिक राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्यसम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको लगायतका विषय उल्लेख छ ।

यस्तै ९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्ययोजना नवीकरण भएको विषयलाई पनि उपलब्धिको रूपमा राखिएको छ । उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीतिअनुरूप प्रदेशमा पहिलो पटक दूध उत्पादनको आधारमा अनुदान वितरण कार्यक्रम अन्तर्गत व्यावसायिकरूपमा दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरूलाई प्रतिलिटर दुई रुपैयाँका दरले  १ करोड १७ लाख  रकम उपलब्ध गराइएको पनि सय दिने उपलब्धिमा उल्लेख छ ।

प्रदेशमा समग्र कृषिक्षेत्रको व्यवस्थित र योजनाबद्ध विकासका लागि प्रदेशमा कृषि विकासको १० वर्षे योजनासहित २० वर्षे कृषि विकास रणनीतिको मस्यौदालाई अन्तिम रूप दिने कार्य पनि भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । सय दिनमा ७ सय ५० हेक्टर जमिनमा सिंचाइ सेवा पु¥याएको, करिब ६० वटा नदी नियन्त्रण योजनाहरू निर्माण गरेको, साना सिंचाइ कार्यक्रममार्फत् क्रमागत करिब ५० वटा योजना सम्पन्न गरेको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र ३२ वटा आयोजना स्किम सम्पन्न भई प्रदेशभित्रका करिब २५ हजार नागरिकलाई पर्याप्त, सफा र सुरक्षित खानेपानी सुविधा पुर्याएको उपलब्धिमा उल्लेख छ ।

यस्तै कार्की नेतृत्वको सरकार बनेपछि प्रदेशभरमा  १ सय १६ कि.मी. सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको, उदयपुरस्थित बाउन्न खोला पुल र बलान खोला पुल तथा मोरङस्थित केशलिया खोला पुल र महिमा खोला पुल निर्माण सम्पन्न भएको तथा प्रदेशका विभिन्न स्थानका १५ वटा झोलुङ्गे पुल निर्माणको काम ९० प्रतिशतले सम्पन्न भएको पनि उल्लेख गरेको छ । प्रदेश सरकारले सम्पन्न गरेका भनिएका यी आयोजना र कामहरू अधिकांश चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रम हुन् ।

सर्वदलीय सरकार गठन गर्न मुख्यमन्त्रीको आह्वान
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् ।

कोशी प्रदेश सरकारको १ सय दिन पुगेको अवसरमा मङ्गलबार सरकारले गरेका उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले मिलेर सरकार चलाउन सबै दलसँग आग्रह गरेका हुन् । उनले सरकारबाहिर रहेका काङ्ग्रेस र एकीकृत समाजवादीलाई पनि यही सरकारमा सामेल हुन सार्वजनिकरूपमा आह्वान गरे । ‘मेरो नेतृत्वको सरकारलाई पाँच वर्षसम्म स्थायित्व प्रदान गर्दै प्रदेशलाई सुखी, समृद्ध बनाउन हामी लागेका छौँ । यो अभियानमा सरिक हुन सरकारबाहिर रहेका दलहरूलाई आज यहीँबाटै औपचारिक रूपमा आह्वान गर्न चाहन्छु’ उनले भने, ‘सबै दलहरू मिलेर सरकार चलाऊँ, पाँच वर्ष हामीले एउटा सन्देश दिऊँ ।’

उनले संसदीय अभ्यासमा प्रतिपक्ष हुनुपर्ने मान्यता भए पनि बिरालो बाँधेर श्राद्ध गर्नेजस्तो मात्र रहेको टिप्पणी गरे । मुख्यमन्त्री कार्कीले प्रतिपक्ष अनिवार्य हुनुपर्ने भन्ने विषय संवैधानिक र कानूनी बाध्यता नरहेको भन्दै प्रदेश सभामा रहेका सबै दल सरकारमा सामेल भएर राष्ट्रिय राजनीतिमा पनि नयाँ सन्देश दिन आह्वान गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘राष्ट्रिय राजनीति र प्रदेश सभामा सहमतिको माध्यमबाट हुनसक्ने मध्यावधि चुनावको सम्भावनाको राजनीतिक सङ्कट टार्दै अगाडि बढौँ । एकबद्ध भएर अगाडि जाऊँ, जहिलेसम्म बहुमत आउँदैन, त्यही समयसम्म यस्तो संस्कारलाई लिएर जाऊँ भनेर सन्देश पनि दिन म चाहन्छु ।’

उनले सरकारबाहिर रहेका दलहरूसँग पनि सरकारमा सामेल हुने विषयमा आफ्नो ठाउँबाट कुराकानी गरिरहेको पनि बताए । उनले प्रदेशको औचित्य र आवश्यकतालाई पुष्टि गर्न प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली काङ्ग्रेस र एकीकृत समाजवादी पनि सरकारमा सामेल हुनु अनिवार्य रहेको जिकिर गरे । केही समययतादेखि एमाले संसदीय दलका नेता कार्की नेतृत्वको वर्तमान सरकार ढालेर नयाँ गठन गर्ने कसरत सुरु भएको छ ।  प्रदेशका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शीर्षनेतालाई भेटेर त्यसका लागि सहमति दिन माग गरिरहेका छन् ।

कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते सपथ ग्रहण गरेका थिए । उनले त्यही दिन तीन मन्त्रीहरू तिलकुमार मेन्याङ्बो, भक्ति सिटौला र निर्मला लिम्बूलाई नियुक्त गरेका थिए । त्यसको ५ दिनपछि पुनः तीन मन्त्री बुद्धिकुमार राजभण्डारी, दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य थप भए । उनीहरूले पुस २९ गते जिम्मेवारी पाएका थिए । अझै आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले भने अहिलेसम्म मन्त्री पाउन सकेको छैन । उक्त मन्त्रालय कार्की आफैले राखेका छन् ।