सामाजिक क्षेत्रमा लामो समय बिताएका जसकुमार राईका एकभन्दा धेरै परिचयहरू छन् । जस्तोः उनी कुनै समय कवि, कुशल उद्घोषक, रङ्गकर्मी, नृत्यकर्मीका रूपमा चिनिन्थे, जस बेखर्चीका नाममा ।
त्यसपछिको उनको परिचय थियो, रेडियोकर्मी । सप्तकोशी एफएममा निक्कै समय काम गरेका उनी विजयपुर एफएमका संस्थापक नै हुन् । रेडियोकर्मीपछि उनको अर्को परिचयमा डकुमेन्ट्री निर्माता तथा निर्देशक थपियो ।
उनी रेडियोपछि डकुमेन्ट्री निर्माणमा सक्रिय भए । राज्य पक्षबाट मारिएका धनकुटा छिन्ताङका १६ जना निहत्था नागरिकको विषयलाई लिएर उनले डकुमेन्ट्री फिल्म ‘छिन्ताङ आँशुमा विश्वास गर्दैन’ बनाए । त्यसपछि इलामका रत्नकुमार बान्तवाको सङ्घर्षपूर्ण बलिदानीको खोजी गरेर उनले डकुमेन्ट्री फिल्म बनाए ‘सेक्रिफाइस नेभर डाइज’ अर्थात् ‘बलिदानी कहिल्यै मर्दैन’ । यी डकुमेन्ट्रीहरू उनले देशका विभिन्न जिल्लादेखि विभिन्न देशहरूमा प्रदर्शन गरे । उनले अन्य विषयमा पनि डकुमेन्ट्री नबनाएका होइनन् तर विशेषगरी देशका लागि बलिदानी दिने तर राज्यले बेवास्ता गरेका सहिदहरूका विषयमा उनी केन्द्रित भएर लागे ।
जसकुमारको सहिदहरूको खोजी र डकुमेन्ट्री निर्माणले चर्चा कमाइरहेको थियो । त्यहीबेला उनी नेपाल छाडेर सपरिवार अमेरिका उडे । उता पुगे पनि उनले नेपालका सहिदहरूको खोजी र अध्ययन छाडेनन् । उनी अमेरिकामै रहँदा नेपालमा रहेका साथी अर्जुनकुमार उप्रेतीसँग मिलेर रत्नकुमार बान्तवाको सङ्घर्षपूर्ण जीवनीमा आधारित पुस्तक ‘नेपालमा सुरुङ युद्ध’ प्रकाशनमा ल्याए । मञ्जरी प्रकाशनले ल्याएको यो पुस्तक शनिबार मात्र इटहरीमा सार्वजनिक भयो भने शुक्रबार धरानमा यसको चर्चा परिचर्चा भएको थियो ।
जसकुमार राई र अर्जुन उप्रेतिले लेखेको पुस्तक नेपालमा सुरुङ युद्धको विमोचन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, समिक्षक अष्मिता विष्ट, लेखक लगायत ।
पहिला नेपालमा रहँदा होस् या पछि अमेरिका पुगेपछि पनि जसकुमार सहिद चिन्तनमा लागिरहे । अहिले केही समयको बिदा लिएर नेपाल आएका उनी फेरि पनि पुस्तकमार्फत् ती सहिदका योगदानको चर्चा र बहस चलाइरहेका छन् । यसपटक पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्षमा होमिँदा मारिएका इलाम चमैताका रत्नकुमार बान्तवाको सङ्घर्षपूर्ण जीवनीमा आधारित पुस्तक ल्याएका उनी छिन्ताङका सहिदहरूका विषयमा पनि पुस्तक लेखिरहेका छन् । ओझेलमा परेका सहिदहरूका बारेमा उनले लामो समय खोज, अनुसन्धान गरेर डकुमेन्ट्री निर्माण गरेपछि राज्यले उनीहरूलाई सहिद घोषणा गरेको थियो । तर त्यतिमा मात्र सन्तुष्ट छैनन् उनी । उनी भन्छन्, “अहिले पनि सहिदका परिवारको अवस्था नाजुक छ । राज्यका लागि ज्यान अर्पण गर्नेको परिवार कुन अवस्थामा छन् ? भन्ने विषयमा राज्यले ध्यान दिन सकेको छैन ।”
लाहुरे परिवारका जसकुमार सानैदेखि कलाकारिता र पत्रकारितामा रमाए । सँगैका साथीहरू कोही लागूऔषधतिर लागे, कोही लाहुरे बनेर विदेशतिर लागे जसकुमार भने कहिले अनाम नाट्य जमातमा नाचे, कहिले साङ्गीतिक कार्यक्रमहरूको उद्घोषण गरे अनि लामो समय छापा र रेडियोमा लेखे/बोले । जब मासकम्युनिकेशनमा मास्टर्स गरे, त्यसपछि भने पत्रकारिताभन्दा बढी उनी डकुेमन्ट्री निर्माणमा सक्रिय भए । तर विषय रोजे सहिदको । गुमनाम सहिदहरूलाई चिनाउन उनले डकुमेन्ट्री बनाए, अनि ती डकुमेन्ट्रीले चाहिँ जसकुमारलाई देशविदेशमा घुमाए ।
'गीत सुनेर सहिद खोजेँ’
कम्युनिष्टहरूको गढ भनेर चिनिने धरानमा जनवादी कलाकारहरूको समूह हिमायती एकताका निक्कै सक्रिय थियो । हिमायतीको एउटा गीत खुब गञ्जिन्थ्यो-
खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा.....
गणेश इजमको शब्द, शिव सुब्बाको सङ्गीतमा किशोर थुलुङको स्वरमा रेकर्डसमेत भयो । हिमायतीमा हिँड्दा जसकुमारलाई पनि यो गीतले खुब छोयो, त्यसैबेलादेखि हो उनलाई छिन्ताङको कौतुहलताले छोएको पनि ।
छिन्ताङ काण्डको बारेमा बुझ्दै गएपछि उनलाई डकुमेन्ट्री निर्माण गर्ने सोच पलायो । साथीहरू किशोर थुलुङ, मोजेस राई, जनकऋषि राई र सिद्धराज राईसँग टिम बनाएर पटक-पटक छिन्ताङ पुगे । उनलाई धेरै पछिसम्म पनि कस्तो डकुमेन्ट्री बन्छ वा बन्दैन थाहा थिएन रे । पाँच वर्षमा बन्यो छिन्ताङ काण्डको कथामा डकुमेन्ट्री ‘छिन्ताङ डजन्ट विलिभ इन टियर्स’ अर्थात् ‘छिन्ताङ आँशुमा विश्वास गर्दैन’ । उनी हाँस्दै भन्छन्, ‘धेरै साथीहरूले अब यो डकुमेन्ट्री बन्छ भन्नेमै आशा मारिसकेका थिए तर बन्यो ।’
उसबेलाका धरानका क्रान्तिकारी कविहरू बम देवान र गोविन्द विकल शिक्षकका रूपमा छिन्ताङ पुगेका थिए । उनीहरू गाउँलेलाई पञ्चायतको विरोधका कुरा सिकाउँथे । देवान र विकलले क्रान्तिको आगो सल्काउँदै गरेको छिन्ताङमा कमाण्डर बनेर आइपुगेका यमनाथ बरालले स्थानीयलाई सरकारविरुद्ध जाइलाग्न उक्साए । त्यतिबेला धनकुटाकै सूर्यबहादुर थापा देशका प्रधानमन्त्री थिए । सरकारी सुरक्षाफौजले धनकुटाको आँखीसल्ला, खोकु र छिन्ताङका १६ जनालाई गोली ठोकेर मार्यो । डकुमेन्ट्री निर्माणका क्रममा जसकुमारले सूर्यबहादुर र यमनाथका कुरा पनि राख्न अनेक कोशिस गरे, बिन्ती गरे तर दुवैले क्यामराअगाडि अनुहार देखाउन मानेनन् । जसकुमार सुनाउँछन्, ‘सूर्यबहादुरका लागि विदेशबाट कुर्सी ल्याउने क्रममा यमनाथ पक्राउ परे, कुर्सीमा सुन लुकाइएको रहेछ । त्यहीँबाट खुल्यो उनीहरूको सम्बन्ध रहेछ भनेर, छिन्ताङका १६ जनाको हत्या पनि उनीहरूकै योजना हो भन्ने लाग्छ ।’
आदिवासी जनजाति समुदायमा लासको अगाडि रुनु हुँदैन, आँशु देखाउनु हुँदैन भन्ने चलन हुन्छ । त्यसमाथि छिन्ताङ हत्या काण्डका बेला पीडित परिवारलाई प्रहरीले भनेको थियो रे ‘कोही रुने होइन, कसैले आँशु झार्ने होइन ।’ उनीहरू मनमनै रोए । खुलेर रुन पनि प्रतिबन्ध लाग्यो । ‘क्षमतावालाले कुखुरा मर्दा, श्रीमान् श्रीमतीको झगडामा समेत सडक बन्द गर्छन्, तर उनीहरूमा त्यस्तो क्षमता थिएन, मनमै रोए, मनको पीडा मनमै लुकाए ।’ पटक-पटक छिन्ताङेहरूको सङ्गत गरेका जस सुनाउँछन्, ‘उनीहरू अहिले पनि जेमा विश्वास गर्यो, अन्त्यन्तै विश्वास गर्छन् ।’
बम र निमा किन सहिद भएनन् ?
छिन्ताङको डकुमेन्ट्री प्रदर्शनका क्रममा देशविदेश पुग्दा धेरैले रत्नकुमारको पनि बनाउनुस् भनेर सुझाव दिए । विशेषगरी हङ्कङतिर बस्ने इलामकै केहीले यसमा बढी जोड दिएका थिए । त्यसपछि जसकुमारलाई आँट पलायो ‘सेक्रिफाइस नेभर डाइज’ बनाउन ।
रत्नकुमार र झलनाथ खनालको राम्रै मित्रता थियो । समकालीन राजनीतिज्ञ थिए उनीहरू । रत्नकुमार अङ्ग्रेजी, नेपाली र बान्तवा भाषामा दख्खल भएका कारण उनलाई गाउँमा सङ्गठन गर्न सजिलो थियो । गाउँमै सुरुङ निर्माण गरेर ‘सुरुङ युद्ध’ को अभ्यास गरेका उनलाई प्रहरीले देउमाई खोलाको किनारमा मारेको थियो ।
त्यही कथामा आधारित भएर सञ्जय थापा (प्रदीप नेपाल) ले ‘देउमाईको किनारमा’ उपन्यास लेखे । त्यसैमा आधारित भिडियो चलचित्र पनि निर्माण भयो । त्यसपछि रत्नकुमारको विषयमा धेरथोर चर्चा भयो । तर उनीसँगै पञ्चायतविरुद्ध लागेको आरोपमा रत्नका भाइ बम बान्तवा र साथी निमा शेर्पा पनि मारिएका थिए, उनीहरूको चर्चा कतै भएन । निमा र बम रत्नका सहकर्मी, सहयोगी थिए । वडाध्यक्षका छोरा निमा गाउँमा प्रौढ शिक्षा पढाउँथे, उनलाई मार्ने प्रहरीले रत्नजस्तो लागेर गोली हानेको भनेछन्, त्यसपछि उनीहरूको खोजीनीति भएन ।
जसकुमारले डकुमेन्ट्री निर्माणका क्रममा उनीहरूको बारेमा थाहा पाए । तर उनले डकुमेन्ट्री निर्माणका क्रममा प्रदीप नेपालको पुस्तकमा धेरै गल्ती भेटे रे । ‘किताबमा रत्नकुमारले आत्महत्या प्रयास गरेको, अन्तरी बोजूलाई भिलेनका रूपमा प्रस्तुत गरिएको छ, धरानमा बम देवानका बाबुले हेपेको, पेलेको, दाउरा काट्न पठाएको कुरा छ । त्यति मात्र होइन रत्नकुमार सर्दू खोला तर्न नसकेर खोलापारि बास बसेको कुरा लेखिएको छ, त्यो सब गलत रहेछ’ उनी भन्छन्, ‘प्रदीप नेपाल बढी नै भावनात्मक भएर लेखेकोजस्तो लाग्यो ।’
जसले डकुमेन्ट्री निर्माणका क्रममा झलनाथ, ईश्वर पोखरेललगायत धेरै समकालीनलाई भेटे । ईश्वरले त रत्नसँगका धेरै कुरा बिर्सिसकेका रहेछन् । जसकुमारले सम्झाएपछि मात्र सम्झिए रे । झलनाथले आफू प्रधानमन्त्री भएको बेला आफ्नो गाउँ इलाम साँखेजुङमा रत्न-बम प्रतिष्ठान खोलेर केही काम गर्ने प्रयास गरे पनि त्यसबाट रत्नका परिवारलाई नसमेटिएकोमा जसकुमार दुःखी छन् । ‘रत्नका परिवारको अहिले पनि बिजोग छ, प्रतिष्ठानले उनीहरूको दुःख कसैले बुझ्न सकेको छैन’ जसकुमार भन्छन्, ‘रत्नका एकजना भाइ गाउँमा दुःख पाएर बसेका छन् । उनका छोराछोरी पढाउन पनि समस्या छ तर प्रतिष्ठानमा रत्नको मूर्ति बनाइएको छ, सुरुङको मौलिकता बिगारेर सिमेन्टका सुरुङ बनाउन खर्च गरिएको छ ।’
रत्नहरूसँगै सङ्घर्षमा सहभागी भएका भाइ मोहन बान्तवालाई २०३५ सालमा राज्य विप्लवको मुद्दा लाग्यो । त्यसपछि उनी धनकुटाको देब्रबासमा नागरिकतामा नामै परिवर्तन गरेर कृष्णकुमार राई बनेका छन् । उनले आफ्नै गाउँले सुवास नेम्वाङ सभामुख भएका बेला उनीहरूसँगै गरेको सङ्घर्षको मुद्दा मिलाइदिन गुहार मागे तर सुनुवाइ भएन ।
रत्नकुमारको भएको एउटा घर पनि पार्टीलाई नै दिइयो । त्यहाँ अहिले रत्न-बम प्रतिष्ठान खोलिएको छ । रत्नकुमारको चर्चा परिचर्चा बढेपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले रत्नकुमारलाई सहिद घोषणा गर्यो । यसले जसकुमारको मनै हलुङ्गो भयो रे । उनले खुसी मुद्रामा सुनाए, ‘सहिद घोषणा हुनुमा डकुमेन्ट्रीले पनि केही त योगदान गर्यो होला ।’ तर उनको प्रश्न छ, राज्यलाई- ‘सँगै मारिएका रत्न सहिद हुँदा बम बान्तवा र निमा शेर्पालाई चाहिँ किन सहिद घोषणा गरिएन ?’
अब जिउँदा सहिदको डकुमेन्ट्री
छिन्ताङका १६ सहिद र इलामका रत्नकुमार, बम र निमाको डकुमेन्ट्री बनाएका जसकुमारले फेरि सहिदहरूकै डकुमेन्ट्री बनाउन सुरु गरेका थिए, तर जिउँदा सहिदहरूको ।
२०३८ सालदेखि धरानमा हिमायती समूह निक्कै चर्चामा थियो । माले, एमालेले आफ्नो सांस्कृतिक सङ्गठनका रूपमा खुबै प्रयोग गरे हिमायतीलाई । नेताहरूका लागि भाषण गर्ने माहोल बनाइदिन्थे उनीहरू तर सबैले हिमायतीलाई आफ्नो चुनाव प्रचार गर्नमा प्रयोग गरे, आफूमाथि जाने सिँढी बनाए ।
हिमायतीका कलाकारहरू हर्क चुम्मे, कुन्ती योञ्जन, शिव सुब्बा, गणेश इजम, उत्तर भुजेललगायतको टोली थियो । पार्टीले काम पर्दा सम्झिने तर अरूबेला बेवास्ता गर्ने गरेपछि उनीहरू निराश भए । उत्तरको रक्सी पिएरै ज्यान गयो । कुन्ती खाजाघर सञ्चालन गर्छिन् । हर्क घरमै रक्सी बेच्छन्, पार्टीले बोलाएका बेला नाच्न गाउँन पुग्छन् । कोही विदेशतिर लागे । यसरी सुस्ताएको हिमायतीलाई जगाउन जसकुमारले नै भूमिका खेले । केही वर्षअघि हिमायतीको टोलीले तिहारमा देउसी खेलेर उठेको पैसाले खोकु छिन्ताङको यात्रा गरेको थियो । हिमायतीले सहिद सम्झियो, सहिद परिवार भेट्यो । यही हिमायतीको कथालाई डकुमेन्ट्री बनाउन सुरु गरेका थिए जसकुमारले । तर अहिले त्यो डकुमेन्ट्री बन्दाबन्दै अलपत्र छ । उनी भन्छन्, ‘त्यसबेलाका हिमायतीका कलाकारहरू कोही तास खेल्छन्, कोही रक्सी पिउँछन्, कोही बेच्छन् । सबै फ्रस्टेसनमा छन् । उनीहरू राजनीतिक दलले बनाएका जिउँदा सहिद हुन् । आफ्नो स्वार्थका लागि प्रयोग गरिएका र काम सिद्धिएपछि बेवास्ता गरिएका । राजनीतिको मूलधारले नहेरेका सहिद ।’
जसकुमार अमेरिका प्रस्थान गरेसँगै हिमायती फेरि सुस्ताएको छ ।
जसकुमारले सहिद रामकुमार राईको विषयमा पनि अध्ययन गरिरहेका छन् । जहाँ पुगे पनि नेपालका सहिदहरू र डकुमेन्ट्री, कला, साहित्यमा सक्रिय रहने उनको अठोट छ । उनी भन्छन्, ‘मलाई यही देशका सहिदहरूले चिनाए, म उनीहरूले देखाएको बाटो बिर्सिन्न, यहीँको कला, साहित्यकै काम गरिरहन्छु । फेरि यस्तै सहिदहरू खोजिरहन्छु ।’