धरान । ‘वर्षौंसम्म अध्ययन अध्यापन गराएका गुरुहरूले आफ्नै विषयमा पिएचडी गर्न पाउने कि नपाउने ? पाउनु पर्छ र त्यसका लागि वातावरण बनाउनु पर्छ ।’

उपरोक्त कुरा पिण्डेश्वर विद्यापीठ धरानद्वारा बिहीबार आयोजित ७३ औं वार्षिकोत्सव समारोहमा प्रा.डा. टङ्क न्यौपानेद्वारा सम्पादित तथा सङ्ग्रहित पं. छविलाल पोख्रेलका कृतिहरू भाग १ विमोचन तथा उद्घाटन मन्तव्य राख्ने क्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राचार्य डा.भीमप्रसाद खतिवडाले बताएका हुन्  ।

उनले क्याम्पसहरूमा विद्यार्थीहरू घटेकोप्रति लक्षित गर्दै कुन विषयमा विद्यार्थीहरूको रुचि बढी छ, त्यस्ता विषयहरू क्याम्पसमा ल्याउनु पर्ने अवस्था रहेको र पिण्डेश्वर विद्यापीठले त्यस्तो गर्न चाहेमा आफूले सहयोग गर्न लागिपर्ने बताए । उनले सङ्गीतको कक्षामा पनि विद्यार्थीहरूको रुचि हुनसक्छ, त्यतातर्फ लाग्न सुझाव दिए । शास्त्रीय विषयहरू संस्कृतमै पठन–पाठन गर्नुपर्ने पनि उनको सुझाव थियो ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई, महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकुमार राई, ब्लाष्ट टाइम्सका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्कीलगायतको मन्तव्य रहेको थियो । सो कार्यक्रममा अक्षयकोष स्थापना गर्नेहरू र प्राध्यापकहरूलाई सम्मान गरिएको थियो ।

अक्षयकोष स्थापना गर्ने प्रा. केदारनाथ गौतम, गीता भण्डारी, राधा न्यौपाने, चित्रमाया वर्मालगायत र प्राध्यापक कृष्णप्रसाद शर्मालाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी संस्कृत अध्यापनतर्फ चन्द्रसंस्कृत मा.वि.का ताराकुमार राई लाई पनि सम्मान गरिएको थियो । सह–प्रा.डा. भवानीशङ्कर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा विद्यापीठ प्रशासन प्रमुख भेषबहादुर निरौलाले स्वागत मन्तव्य राखेका थिए ।