विराटनगर । मोरङ जहदा गाउँपालिका–३ की २२ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेकामाथि तीनवटा मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।

तीनजना युवाले सामूहिक बलात्कारपश्चात् दुवै हात र खुट्टा कपडाले बाँधी मुखमा सल कोचेर अर्धचेत छोडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ती युवतीलाई घरबाट अन्दाजी ३ किलोमिटर उत्तर–पूर्व कटहरी गाउँपालिका–२ कदमगाछीस्थित बाँसघारीमा लगेर सामूहिक बलात्कार गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका–२ का २० वर्षीय महमद रमजान, सोही ठाउँका १९ वर्षीय सुनिलकुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पञ्चायत–९ हस्तचोक घर भई हाल कटहरी–२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जारलाई पक्राउ गरेको हो ।

तीन जनाविरुद्ध तीनवटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीले उनीहरूविरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरीर बन्धक गरी ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी जोशीले जानकारी दिए ।

पक्राउ परेका तीनजनाले कटहरी गाउँपालिका–२ कदमगाछीस्थित बाँसघारी नजिक खेतमा लगी पुस ९ गते दिउँसो अन्दाजी १२ः५० बजे ती युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीयले ती युवतीलाई अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली पुगेर तत्काल उद्धार गरी विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाएको थियो ।

घटनापश्चात् अनुसन्धान गर्ने क्रममा ती युवतीलाई सोही दिन बिहानको समयमा शौच गर्न गएको मौका छोपेर अपरहण गरी लगेका थिए । पीडित युवती जुडी खोलामा शौच गर्न गएको मौका पारेर अपहरण गरेका थिए । ‘त्यसपछि पक्राउ परेका तीनजना आएर पछाडिबाट मुख छोपी हामीसँग जाऊँ भनी सिटी सफारीमा राखी घरबाट अन्दाजी ३ किलोमिटर उत्तर–पूर्व बाँसघारीमा लगी करणी गरेको पाइएको छ’–डिएसपी जोशीले भने । पक्राउ परेकामध्ये रमजानको ती युवतीसँग पहिलादेखिको चिनजान रहेको थियो । पीडित युवतीको स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ ।

कडा सजायको माग
पीडित परिवारले पक्राउ परेका विरूद्ध कडा सजाय हुनुपर्ने माग राखेका छन् । छोरीलाई नराम्रो काम गर्नेलाई कडा दण्डसजाय दिनुपर्ने पीडित परिवारको माग छ । ‘छोरीको सुरूमा अर्धचेत अवस्था देख्दा बाँच्दिन जस्तो लागेको थियो । मेरो छोरीलाई यस्तो हालत पार्नेलाई कडा सजाय हुनुपर्दछ’– पीडितकी आमाले भनिन् ।