धरान । कोशी राजमार्गअन्तर्गत विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार एकजना महिलाको ज्यान गएको छ । 

को.१ ख ७०२३ नम्बरको यात्रुवाहक बसले प्रदेश १–०२–०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई सुनसरीको दुहबी नगरपालिका–८ हुलास फ्याक्ट्रीअगाडि ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको उपचारको क्रममा निधन भएको हो । बसको ठक्करबाट मोटरसाइकल चालक सुनसरी इटहरी–५ का २१ वर्षीय नवराज बुढाथोकी पनि गम्भीर घाइते भएका छन् । सोही मोटरसाइकलमा सवार श्रीमायाको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा निधन भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ । 

चालक नवराजको पनि विराट टिचिङमै उपचार भइरहेको छ । घटनास्थल दुहबीस्थित ट्राफिक प्रहरी पोष्टबाट अन्दाजी पाँच किलोमिटर उत्तरमा पर्ने ट्राफिक प्रहरीले जनाएको छ । घाइते र मृतक नातामा आमाछोरा हुन् । नवराजको दाहिने खुट्टा र शरीरका विभिन्न भागमा चोट लागी हाल उपचाररत छन् ।