इटहरी । सुनसरीको दुहबी नगरपालिकामा चौपायामा अफ्रिकन स्वाइनफ्लु भेटिएको छ ।
यही फागुन १४ गते स्थानीयहरूको सुँगुर एकाएक बिरामी भई मर्न थालेपछि परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय प्राविधिक ल्याव पठाइएको थियो । ल्यावले अफ्रिकन स्वाइनफ्लु सङ्क्रमण पुष्टि गरेको छ ।
पुष्टि भएको क्षेत्रमा कडाइ र सावधानी अपनाइएको छ । जिल्ला प्रशासनको कार्यालय सुनसरीले दुहबीलगायत छिमेकी स्थानीय तहहरूमा सुँगुरलगायत चौपाया ओसार–पसारमा कडाइ गरेको जनाएको छ । स्वाइनफ्लुका कारण दुहबी नगरपालिका वडा नं. ९ र १० का २७ वटाभन्दा बढी सुँगुर मरिसकेको तथा अन्य सङ्क्रमणकै कारण ग्रस्त देखिएको दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले बताए ।
यही फागुन १५ गते ल्याव टेष्टका लागि काठमाडौँ पठाइएको र केन्द्रीय प्राविधिक ल्यावले अफ्रिकन स्वाइनफ्लु पुष्टि गरेको नगर प्रमुख गच्छदारले बताए । हालसम्म दुई वडामा २७ भन्दा बढी सुँगुर मरिसकेको र दर्जनभन्दा बढी बिरामी अवस्थामा रहेको प्रमुख गच्छदारको भनाइ छ । पशु शाखा अधिकारीको नेतृत्वमा अनुगमन टोली बनाई नगर क्षेत्रमा रहेका सुँगुर फार्म तथा कृषकहरूको फार्ममा सचेतनासँगै अवलोकन र निगरानी बढाएको नगरपालिकाका सूचना अधिकारी युवराज चौधरीले बताए ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर मेहताका अनुसार सङ्क्रमण देखिएको स्थानमा जनचेतना फैलाउनेदेखि रोगका असर तथा मानव जीवनमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको बताए । यता जिल्ला प्रसाशनको कार्यालय सुनसरीले आकस्मिक रूपमा छलफल गरी १५ दिनका लागि राजमार्ग क्षेत्रबाट हुने बङ्गुर ओसार–पसारमा रोक लगाएको छ ।
खुला सिमानाका कारण अवैधरूपमा हुने ओसार–पसारलाई रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । उनले राजमार्ग केन्द्रित मात्र नभई भित्री बाटोहरूमा पनि उत्तिकै कडाइ साथ निगरानी बढाइएको, विशेषगरी खुला सिमाना भएका स्थानीय तहहरूमा पनि सतर्कता अपनाउन र प्रहरीलाई सुरक्षा संवेदनशीलता अपनाउन निर्देशन दिइएको बताए ।
यता छिमेकी नगरमा अफ्रिकन स्वाइनफ्लु सङ्क्रमण
पुष्टि भइसक्दा पनि इटहरी उपमहानगरमा भने हालसम्म कुनै प्रकारको सचेतना
अपनाइएको छैन । इटहरी उपमहानगरका प्रवक्ता दिवश पोख्रेलले भने सूचना जारी
नगरे पनि केही फर्महरूमा पुगेर अनुगमन गरिसकेको तर त्यस्तो कुनै खतरा
नदेखिएको बताए । छिमेकी नगर दुहबीमा सङ्क्रमण पुष्टि भएपछि इटहरी आफै सचेत
भइसकेकाले नगरवासीहरूलाई थप सतर्कता अपनाउन र बङ्गुरलगायत चौपाया ओसार–पसार
नगर्न अनुरोध गरिसकेको प्रवक्ता पोखेलले बताए ।