विराटनगर । नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशनको बन्द सत्र आइतबारबाट सुरु भएको छ ।

शनिबार उद्घाटन सकिएपछि सुरु भएको बन्द सत्रमा प्रतिवेदनमाथिको छलफल सकिएपछि नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी छ । अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि दुई पक्षले छुट्टाछुट्टै प्यानल बनाउने भएको छ । अध्यक्षका आकाङ्क्षी राजकुमार ओझा र अजम्बर राईले प्रतिनिधिहरूसँग भोट माग्न सुरु गरेका छन् । ओझाले आफू नै पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरे । ‘पार्टीले आधिकारिकरूपमा मलाई नै अध्यक्षमा अघि सार्ने निर्णय गरेको छ । म सोहीअनुरूप तयारीमा लागेको छु । मतदाताहरूसँग छलफल गरिरहेको छु र मत माग्दैछु’–अध्यक्षका उम्मेदवार ओझाले भने । 

उनले अध्यक्षसहित अन्य पदमा आफ्नो प्यानल तयार भएको बताए । ओझाका अनुसार उनको प्यानलमा उपाध्यक्ष शान्तिकुमारी लिम्बू, सचिव रविन थापा, उपसचिव एर्जालाल राजवंशीको नाम टुङ्गिएको छ । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उम्मेदवार हुन् । उता अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले निर्वाचनको प्रक्रियाबाट नै नेतृत्व चयन हुने देखिएको बताए । ‘२०४८ सालमा चौथो जिल्ला सम्मेलन भएको थियो । सङ्गठित सदस्य पुराना भएपछि सङ्गठित सदस्यले सम्मेलन गर्ने चलन थियो । अहिले सदस्यबाट निर्वाचित भएर अधिवेशन गर्न थालियो । म त्यसबेलादेखि नै प्रतिनिधि हुँदै आएको छु, अब अध्यक्षमा मेरो दाबी हो’ उनले भने, ‘निर्वाचनबाट नेतृत्व चयन हुनेछ । आन्तरिक चुनाव हुनु राम्रो हो । सहमतिको म विरोधी होइन । मिल्दोजुल्दो नाम आए मानेर जान्छु तर त्यो नाम आएको छैन । सहमति गरौँ भनेर कुनै नेताले मलाई भन्नुभएको छैन ।’ 

अहिलेसम्मको आधिकारिक वा अनाधिकारिक भन्ने नभएको तर जसले यसरी प्रचार गरे पनि त्यो गलत भएको उनले टिप्पणी गरे । ‘उम्मेदवार बन्न पाउँदैनस् भन्ने हुन्छ र ? जसले जित्छ, त्यो र हार्ने पनि पार्टीकै आधिकारिक हुन्छ’ –उनले भने । राईको प्यानलमा उपाध्यक्ष सागर थापा, सचिव सोम थापा, उप(सचिवमा उषा झा र सन्तोष बान्तवा रहेको चर्चा छ । 

यसैबीच एमाले अध्यक्ष ओलीले मोरङ जिल्ला अध्यक्षमा ओझा र उपाध्यक्षमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको नाममा सहमति गर्न निर्देशन गरेको स्रोतले बताएको छ । संस्थापन पक्षबाट उपाध्यक्षमा शान्तिकुमारी लिम्बूलाई अगाडि सारिरहेको बेला अध्यक्ष ओलीबाटै कार्कीको नाम आएपछि भने सो पक्ष अप्ठ्यारोमा परेको छ । यसअघि ओलीले चाहेअनुरूप नहुँदा भोजपुर, इलाम र तेह्रथुममा निर्वाचनबाटै नयाँ नेतृत्व चयन भएको थियो । मोरङमा पनि सहमतिबाट नेतृत्व चयन हुने परिस्थिति नहुँदा अधिवेशन नै लम्बिएको हो । मोरङमा ओली इतर समूहको वर्चस्व रहेको बताइन्छ । 

मोरङमा १७ पालिकाका १ सय ५१ वडाबाट ६ सय ९२ जना, २३ जनवर्गीय सङ्गठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनित ४६ जना गरी ९ सय १४ जना प्रतिनिधि छन् । मोरङमा एमाले इतर समूह (पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी) को नेतृत्व एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकालले गर्दै आएका छन् । ढकाल पहिले अध्यक्ष केपी ओलीनिकट मानिन्थे । तर, एमाले कोशीको अधिवेशनपछि फेरिएका छन् । उनी अध्यक्षमा ओली निकट खेमाका घनश्याम खतिवडासँग पराजित बनेका थिए ।