इटहरी । इटहरीमा एक युवतीको शङ्कास्पद मृत्युपछि मध्यरातमा दाहसंस्कार गरिएको घटना सार्वजनिक भएको छ ।

इटहरी–६ जुटविकासका ६४ वर्षीय समयलाल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि यो घटना सार्वजनिक भएको हो । घटना गत फागुन ९ गतेको हो ।

घरेलु कामदारको रूपमा काम गर्दै आएकी इटहरी ट्रान्सफर्म लाइनकी २१ वर्षीया सङ्गीता चौधरीको मृत्युपश्चात् परिवारलाई थाहै नदिई मध्यरातमा दाहसंस्कार गरेपछि आफन्तजनले उनको हत्या दाबी गर्दै गुप्ताविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपित गुप्तालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

घटनाक्रम अनुसार फागुन ९ गते इटहरी–६ जुटविकास चौक निवासी ६४ वर्षीय समयलाल गुप्ताले चन्दालाई मुखबाट रगत बमिट गरेपछि इटहरीकै पञ्चकोशी हस्पिटल पुर्याएको र सामान्य उपचारपछि घर लिएर गएको बुझिएको छ । भोलिपल्ट साँझ पुनः चन्दा बिरामी भएपछि उपचारका लागि पञ्चकोशी नै पुर्याएका थिए । चन्दाको स्वास्थ्य अवस्था जटिल बनेको देखेपछि पञ्चकोशीकै सल्लाहमा उनलाई विराटनगर रेफर गरिएको थियो । विराटनगरस्थित कोशी अस्पताल पु¥याउनासाथ चन्दाको मृत्यु भएको थियो र सोही रात परिवारलाई थाहै नदिई उनले चन्दाको शव इटहरीकै बूढीगङ्गा जमुना मुक्ति घाटमा जलाएपछि घटना शङ्कास्पद रहेको इटहरी प्रहरी बताउँछ ।

चन्दाको मृत्यु र दाहसंस्कार भइसकेको स्थानीय छिमेकीबाट थाहा पाएपछि आरोपित गुप्ताविरुद्ध आफन्तले इटहरी प्रहरीमा उजुरी दिएको चन्दाकी दिदी रीता परियारले बताइन् । उनले घटना शङ्कास्पद भएको र गुप्ताले नै बहिनीको हत्या गरेको दाबी गरेकी छन् । उनले गुप्ताविरुद्ध आफूले कर्तव्य ज्यानमा जाहेरी दिएको बताइन् ।  रीताका अनुसार मृतक चन्दा पछिल्लो २ महिनायता श्रीमान्ले छाडेपछि गुप्तासँग बस्दै आएकी थिइन् । घरमा काम लगाउने र उचित पारिश्रामिक दिने शर्तमा गुप्ताले चन्दालाई घरमा राखेको रीताको भनाइ छ ।

घटना हुनुभन्दा केही दिनअघि मात्र गुप्ताले चन्दामाथि मरणासन्न हुनेगरी कुटपिट गरेको रीताको दाबी छ । घटना अतिरञ्जित र योजना बनाएर बहिनीको हत्या गरेको उनको आरोप छ । परिवारलाई खबरै नगरी मध्यरातमा दाहसंस्कार किन गरियो भन्दै रीताले प्रश्न उठाएकी छन् । प्रहरी नियन्त्रणमा रहेका समयलाल गुप्ताको घर मोरङको विराटनगर महानगरपालिका–४ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इटहरीमा उनको ट्रान्सपोर्ट व्यवसाय भएकोले जुटविकासमा डेरा लिएर बस्दै आएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी भण्डारीले घटनाको अनुसन्धान भइरहेकोले तत्काल केही बोल्न नमिल्ने बताए । घटना शङ्कास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ र आवश्यकीय अनुसन्धान भइरहेको प्रष्ट्याए । घटनापछि शव जलाउँदै गरेको भिडियो प्राप्त भएको डिएसपी भण्डारीले जानकारी दिए ।