धरान । सुनसरीको धरानस्थित वराह ग्रुप अफ कम्पनी र कम्पनीसँग आबद्ध संस्थाहरूले ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये ८ जनालाई थुनामा राख्ने आदेश दिएको छ ।
कम्पनीका प्रमुखहरू भने हालसम्म फरार छन् । तीनजनालाई भने धरौटीमा छाड्न आदेश दिएको छ । सुनसरी जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश मुकेश उपाध्यायको इजलासले ८ जनालाई पुर्पक्षमा पठाउन आदेश दिएको हो । जसमा वराह ग्रुप अफ कम्प्नीका अध्यक्ष शिव लामिछानेका पूर्वपत्नी रीना राई, सञ्चालक समितिका सदस्य फूलमाया राई, ऋण उपसमितिका सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी, पूर्व सञ्चालक तथा लेखा सुपरीवेक्षक संयोजक सुदिन विक, ऋण उपसमितिका पूर्व सदस्य याम्बा भनिने इन्द्रकुमार ल्वागुन र लेखापाल अर्पणा श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएको हो ।
गत बिहीबार जिल्लास्थित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुनसरीमा १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको भन्दै अध्यक्षसहित २ सय ६२ जनाविरुद्ध अभियोजन पत्र दर्ता गरेको थियो । जसमा पुर्पक्षमा पठाइएकाहरूलाई पनि प्रतिवादी बनाइएको थियो । पक्राउ परेकामध्ये तीनजनालाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जसमा सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माको पत्नी जतनमाया विक, गङ्गा कालीकोटेका पत्नी सरिता कालीकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला
प्रहरी कार्यालय सुनसरीले यसअघि ५५ दिनसम्म अनुसन्धान गरी जिल्लास्थित
सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त
अनुसन्धानबाट सञ्चालकसहित २ सय ६२ जनाविरुद्ध सङ्गठित अपराधको कसूर र
सहकारी ठगीमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । सोही आधारमा सरकारी वकिलको
कार्यालयले मुद्दा अभियोजन गरेको हो । मुद्दा दायर भएकामध्ये ३५ जनालाई
सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिमको कसूरमा सजाय माग
दाबी गरिएको छ । अन्यलाई भने सहकारी ऐन २०७४ अनुसार मात्रै सजाय माग दाबी
गरिएको छ ।
अर्ब ७३ करोड ४३ लाख ४७ हजार नौ सय १३ रुपैयाँ हिनामिना भएको मुद्दामा उल्लेख गरिएको छ । वराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने), स्वर्गीय बुबा इन्द्रकुमार विश्वकर्मा, स्वर्गीय आमा विष्णुमाया विश्वकर्माका विरुद्ध पनि अभियोजन भएको छ । अध्यक्ष शिवकुमारले पाँच अर्ब ८८ करोड ४० लाख ८४ हजार सात सय ३३ रुपैयाँ हिनामिना भएको अभियोजन पत्रमा उल्लेख छ ।
यस्तै उनका स्वर्गीय बुबा इन्द्रकुमारले दुई अर्ब ४५ करोड ७७ लाख १७ हजार पाँच सय ७६ रुपैयाँ र स्वर्गीय आमा विष्णुमायाले ७१ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उल्लेख छ । उनीहरूबाट उक्त रकम असूल गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै शिवकुमारकी बहिनी मन्दिरा लामिछानेले एक अर्ब २३ करोड ११ लाख ९१ हजार एक सय रुपैयाँ, सहकारीका सञ्चालकमध्येका मानबहादुर विश्वकर्माको नाममा एक अर्ब ११ करोड ८१ लाख ८१ हजार दुई सय १७ रुपैयाँ असूल गर्नुपर्ने अभियोजन पत्रमा उल्लेख गरिएको छ ।
दुई सय ६२ जनामध्ये ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ अनुसार कसूरको सजाय माग दाबी गरिएको छ भने अन्य ऋणीसहित दुई सय २२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसूरमा सजाय माग गरिएको छ । यस्तै पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्न प्रतिवादी बनाइएको छ ।
सङ्गठित तथा सहकारी दुवैमा वराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमारसहित स्वर्गीय बुबा इन्द्रकुमार, आमा विष्णुमाया र बहिनी मन्दिरासमेत छन् । यस्तै सहकारीका अध्यक्ष मानबहादुरसहित हरिकुमार धमला (विक), प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेल, पूर्णबहादुर कालिकोटे भनिने पूर्णकुमार विश्वकर्मा छन् ।
यस्तै रीना राई (लामिछाने), भोजमान लामगादे,
गङ्गाबहादुर कालीकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर
विश्वकर्मा, कृष्णा भन्ने अम्बरप्रसाद खाती, सुदिन विक, कुमार दुतरात
भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी,
दातेन्जी शेर्पालगायत छन् । धरान उपमहानगरपालिका–९ का शङ्कर थापा
क्षेत्रसहित गरी चार हजार एक सय ६८ जनाले वराह ग्रुपसहित सहकारीका सञ्चालक
तथा पदाधिकारीहरू र कर्मचारीहरूसमेतको मिलोमतोमा ठगी गरेको भन्दै प्रहरीमा
उजुरी दिएका थिए । उनीहरूले पाँच अर्ब ८५ करोड ९८ लाख ७७ हजार सात सय ३९
रुपैयाँ रकम भराउन माग गर्दै जाहेरी दिएका थिए ।