भद्रपुर । झापाको भद्रपुरमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा एक घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार शुक्रबार बिहान ५ बजे भद्रपुर नगरपालिका–९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो, टाटी बेरा भएको काठको २ तले घरमा आगलागी भएको थियो ।

घरनजिकै रहेको गोठमा बालिएको आगोको झिल्काबाट सल्किएर भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सम्पूर्ण सामान, एउटा बाख्रा, एउटा गाईको बाच्छी, कुखुरा ३० वटा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख १९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर मेहेगी ल्हामु तामाङको कमाण्डमा १७ जना, कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीबाट १३ जना, सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हे.क्वार्टर चन्द्रगढीबाट १८ जना, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो बिहान ६ः१५ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । 

सोही घरनजिक रहेको गणेश ढकालको एकतले पक्की घरको झ्यालको ६ वटा सिसा फुटेको र मिटरबक्स जलेर नष्ट हुँदा अन्दाजी १८ हजार बराबरको क्षति भएको डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।