- सन्देश तिम्सिना
धरान । बाल्यकालमा फुटबलर बन्ने सपना देखेका उनी, जीवनको मोडले सङ्गीततर्फ डोर्यायो । आज उनी मेला, महोत्सव तथा कन्सर्टहरूमा श्रोता–दर्शकमाझ रमाएका छन् । तिम्रो माया ९९ भए मेरो माया सय, नभेटेको भए ठिकै हुन्थ्यो, बलले भए बलै पो लाउँथे’ जस्ता गीतहरूले हजारौँ श्रोताहरूको हृदय छोइसकेका छन् । उनका स्वर, शब्द र सङ्गीतको सम्मिश्रणले सङ्गीतानुरागी हजारौँ मनहरूलाई मन्त्रमुग्ध बनाइरहेका छन् । देशविदेशका कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिन उनी निरन्तर बेफुर्सद छन् र दिन प्रतिदिन उनको साङ्गीतिक यात्राले नयाँ उचाइ लिइरहेको छ ।
गायक बन्ने कुनै सपना नहुँदा नहँुदै पनि सङ्घर्ष, परिस्थितिको बहाव र सङ्गतले गायक बन्न पुगेका उनी हुन् धरान रेल्वेका पूर्ण राई । २०५४ साल असार ६ गते जन्मेका पूर्ण राई आफ्नो स्कुले जीवनमा स्कुलको कार्यक्रमहरूमा गीत सँगसँगै गितार, ड्रम बजाउँथे । दाइले गीत गाउने उनले गितार बजाउने गर्थे । सपना फुटबलर बन्ने थियो तर खेलको मैदानमा होइन, सङ्गीतको मैदानमा उनी जमे ।
धरानको दिल्ली पब्लिक स्कुलमा माध्यमिक तहसम्मको अध्ययन सकेर उनी दार्जिलिङ गए । उनले दार्जिलिङमा पढाइसँगै १ वर्ष मायाप्रेम गर्ने अवसर पाए । स्नातक तहसम्म पढाइ र प्रेम दुवैलाई सफल बनाएर फर्किए । दार्जिलिङमा पनि उनले ड्रम बजाउन छोडेनन्, साथीहरूले उनलाई अवसर दिइरहे । पछि पुनः धरान फर्किएर घरमै बस्ने निर्णय लिए । तर उता सम्बन्धले यो निर्णयलाई स्वीकार गर्न सकेन । अनि उनी पुनः एक्लिए । एक्लोपनका बीचमा उनले आफूलाई सङ्गीतमै समर्पित गर्ने निधो गरे । आफ्नै कोठामा बसेर गीतहरू लेख्दै, अगाडि बढे । उनी भावनालाई सङ्गीतमा पोख्न निपुण भए । उनका आफ्नै दाइ मिलन राई गीत गाउनमा पोख्त थिए । उनले आफ्ना दाजुभाइ र साथीहरूसँग मिलेर सङ्गीत यात्रालाई अघि बढाउने निर्णय गरे । ड्रम बजाउँदै सङ्गीतको लयमा विस्तारै गहिरिँदै गएका उनी सङ्गीतकै संसारमा हराउन थाले । ब्यान्डसँगको यात्राले उनलाई भावनात्मक गहिराइ बुझ्न अझ मद्दत ग¥यो । सङ्गीत मात्र सौख नभएर आत्माको भाषा बन्न थाल्यो ।
कोठामा आफैसँग संवाद गर्दै शब्दहरू लेख्थे, तिनलाई गीत बनाउँथे अनि युट्युबमा अपलोड गर्थे । चौथो गीत सार्वजनिक गरेको एक वर्षपछि श्रोताहरूको मन जित्न थाल्यो र त्यही क्षणबाट उनको सङ्गीतिक यात्राको नयाँ अध्याय सुरु भयो । उनको यात्राले अहिलेसम्म करिब देशका धेरै ठाउँहरूमा साङ्गीतिक प्रस्तुति दिइसकेका छन् भने नेपाली श्रोतालाई मन्त्रमुग्ध बनाउँदै, उनले दुबई र अष्ट्रेलियाजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत आफ्नो प्रस्तुति दिएका छन् । पूर्णका दाइ गीत गाउने, आन्टीका छोराहरू गिटार बजाउने र उनी ड्रम बजाउँथे ।
यस्तै सङ्गीतिक माहोलमा उनी हिँड्न थाले । होटल, बारहरूमा प्रस्तुति दिँदै, सङ्गीतको बहावमा रमाउन थाले । तर, उनी ब्यान्डका औपचारिक ड्रमर भने थिएनन् । जब ब्यान्डका आधिकारिक ड्रमर बिरामी हुन्थे, अन्यत्र व्यस्त रहन्थे वा अनुपस्थित हुन्थे, त्यही बेला उनी जिम्मेवारी सम्हाल्थे र सङ्गीतलाई निरन्तरता दिन अग्रसर हुन्थे । यसरी नै सङ्गीतप्रतिको समर्पण र दृढताले उनलाई विस्तारै सङ्गीतिक यात्रातर्फ अघि बढाइरह्यो । उनले कोठामा बसी लेखेको गीत एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । जताततै उनकै गीत बज्न थाल्यो, मानौँ सङ्गीतप्रेमीहरूको मनमा उनले आफ्नो स्थायी ठाउँ बनाउन थालिसकेका थिए । छोटो समयमा नै उनको सिर्जनाले व्यापक चर्चा पायो र त्यसपछि उनको साङ्गीतिक यात्राले नयाँ मोड लियो । तर यो कुरासमेत उनलाई थाहा थिएन कि उनको गीत सामाजिक सञ्जालमा चलिरहेको छ । जब साथीहरूले उनलाई यो खबर सुनाएपछि मात्र उनले थाहा पाए । उनलाई अझै अन्योल थियो— गीत एकाएक कसरी भाइरल भयो ? किन यति धेरै चर्चा पायो ? अप्रत्याशित रूपमा चर्चामा आउँदा, उनलाई पत्याउनै गाह्रो भइरहेको थियो ।
पहिलो पटक युट्युबबाट आएको पैसा आमालाई दिँदा, आमाले ‘यति पैसाले जिन्दगीमा पुग्छ ?’ भनेर गाली गरिन् । उनी केही समय त निरुत्साहित भए, तर जसोतसो आमालाई सम्हाल्न प्रयास गरे । मनभरि उत्साह त थियो तर साथसाथै आशङ्का र अन्योल पनि बढ्न थाले । फेरि पनि आउँछ त ? कि यो एकपटकको संयोग मात्र हो ? यस्ता प्रश्नहरूले उनलाई भित्रभित्रै सताउन थाले । सङ्गीत यात्राले उनलाई टिकाइराख्छ कि राख्दैन ?—यो अन्योलमै उनी आफ्नो सङ्गीतलाई अझ परिष्कृत बनाउन लागिपरे । उनले कार्यक्रमहरूमा अवसर पाउन थाले । दार्जिलिङ बस्दा उनले पहिलो गीत ‘म’ लेखेका थिए । यो गीत उनले नयाँ ठाउँमा जीवन बुझ्ने क्रममा लेखेका थिए, जसले उनलाई सङ्गीत यात्राको सुरुवात गरायो ।
उनको आवाज धरानका विभिन्न कार्यक्रमहरूमा गुञ्जिन थाल्यो । सामाजिक सञ्जालमा पाएको चर्चा अब दर्शकहरूमाझ प्रत्यक्षरूपमा देखिन थालेको थियो । त्यही समयमा उनले आफ्नो ब्यान्डको नाम ‘पूर्ण राई एन्ड द दाजुभाइहरू’ राखे । दार्जिलिङमा भने उनी भाइस भर्सा भन्ने ब्यान्डमा रहेका थिए । ब्यान्डसँगै उनले नेपाली सङ्गीत क्षेत्रमा आफूलाई स्थापित गर्न थाले । भाइहरू र साथीहरूको साथमा उनले विभिन्न मञ्चमा प्रस्तुति दिन थाले, जसले उनलाई अझ लोकप्रिय बनायो । उनका गीतहरूप्रति आकर्षित भएका श्रोताहरू उनी प्रस्तुत हुने कार्यक्रमहरूमा जान थाले र उनले आफै दर्शकहरू बटुल्न थाले । लोकप्रियता बढ्दै जाँदा, उनी क्रमशः कार्यक्रमहरूमा बेफुर्सदी बन्दै गए र उनको सङ्गीतयात्रा अझ मजबुत हुँदै गयो । उनलाई थाहै थिएन कि ‘एकदिन म स्टेजमा उभिन्छु, दर्शकमाझ गाउन पुग्छु’ । सङ्गीत केवल आफ्ना भावनाहरू पोख्ने माध्यम थियो, तर समयले उनलाई अर्कै बाटोमा डो¥यायो । सपना एउटा थियो, तर गन्तव्य अर्कै बन्यो । फुटबलर बन्ने चाहना भए पनि उनलाई सङ्गीतमार्फत् चिनायो । जब स्टेजमा उभिएर पहिलो पटक गाए, त्यही क्षण उनले बुझे— यो नै मेरो वास्तविक पहिचान रहेछ ।
उनले फेरि नयाँ गीत युट्युबमा अपलोड गरे । नयाँ गीतले पनि उत्तिकै माया पायो । धेरै दर्शकहरूले मन पराए, उनका शब्दहरू हजारौँको हृदयमा बस्न थाले । जब उनी प्रेमको पीडामा डुबेका थिए, त्यही समयमा उनले लेखेका शब्दहरू आज उनका गीतहरू बनेका छन् । भावनाले भरिएका ती गीतहरू उनले दर्शकमाझ प्रस्तुत गरे । सत्य कथा झैँ लाग्ने ती शब्दहरू सुन्दा धेरैले आफ्नै अनुभूति दोहोरिएको महसुस गरे । दर्शकहरूले मनभरि भावनाका तरङ्ग बोकेर उनका गीतहरू सुने, महसुस गरे र आफ्नो बनाए ।
अहिले धेरै दर्शकहरूले उनलाई माया दिएका छन् । सङ्गीतप्रतिको लगाव, मायाले दिएको पीडा, अनि त्यसैबाट जन्मिएका गीतहरूले उनलाई सफल गायक बनाएको छ । मायाबाट स्पर्श सङ्गीत, ध्रुवतारा, कालोसेतो, मनका कुरा, मन छ जस्ता गीतहरू लेख्दै उनले दर्शकहरूको हृदय जित्न सफल भएका छन् । उनले कहिल्यै कल्पनासमेत गरेका थिएनन् कि ‘एकदिन गीत लेख्छु, सङ्गीत सिर्जना गर्छु र गायक बन्छु ।’ तर जीवनका पलहरू जोडिँदै गए, सङ्घर्षले आकार लियो, परिस्थितिहरूले उनलाई यही मार्गमा अघि बढायो ।
हाल पूर्ण राई एन्ड द दाजुभाइहरू ब्यान्डमा सृष्टि श्रेष्ठ म्यानेजरको भूमिकामा रहेकी छन् । ड्रममा सुमेक योञ्जन, बेस गितारमा डिगोस राई, गितारमा सुसन कार्की, बाँसुरीमा एयान थुलुङ राई छन् भने शब्द र सङ्गीतको जिम्मेवारी पूर्ण राई आफैले सम्हालिरहेका छन् ।
सङ्गीतप्रतिको निष्कलङ्क प्रेम, असफलताले दिएको पाठ र अनुभवले जन्माएका शब्दहरूले आज उनलाई हजारौँ दर्शकका प्रिय गायक बनाएको छ । फुटबल खेलाडी बन्ने सपना अन्ततः परिमित रह्यो, तर समयको खेलले उनलाई सङ्गीतको मैदानमा डोर्यायो, जहाँ उनी शब्द र गीतका खेलाडी बनेर उदाएका छन् ।