नेपालको राजनीतिक र सामाजिक इतिहासमा विद्यार्थी सङ्घ (स्ववियु)हरुको भूमिका ऐतिहासिकरुपमा महत्वपूर्ण रहेको छ। विद्यार्थी सङ्घहरुले केवल शैक्षिक मागमात्र होइन, देशको परिवर्तनमा पनि प्रेरक भूमिका निर्वाह गरेका छन् । यसले विद्यार्थीहरुको आवाजलाई संस्थागत रुप दिएर समाज र राज्यसँगको अन्तरक्रियामा सञ्चालकको काम गरेको छ । तर आज यसको भूमिका र प्रासङ्गिकतालाई पुनः परिभाषित गर्नु आवश्यक छ । नेपालमा विद्यार्थी स्ववियुको उत्पत्ति २००७ सालभन्दा पहिलेदेखि नै सुरू भएको देखिन्छ । १९५० को दशकमा राणाशासनविरूद्धको आन्दोलनमा विद्यार्थीहरु अग्र पङ्क्तिमा थिए । २००७ सालको क्रान्तिपछि पनि विद्यार्थी सङ्घहरुले प्रजातन्त्र, शिक्षा र समानताको लागि आवाज उठाउ“दै आए । २०३६ सालपछि पञ्चायतकालमा पनि विद्यार्थी सङ्घले सक्रिय भूमिका खेलेका थिए । २०४६ को जनआन्दोलन र २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा पनि विद्यार्थीहरु नेतृत्वको भूमिकामा थिए । यी आन्दोलनहरुले विद्यार्थी सङ्घलाई राजनीतिक परिवर्तनको प्रमुख साझेदार बनाएको थियो ।

विद्यार्थी सङ्घको प्राथमिक कर्तव्य विद्यार्थीहरुको अधिकार र हितको रक्षा गर्नु हो । शैक्षिक गुणस्तर, छात्रवृत्ति, परीक्षा प्रणाली, शुल्क नीतिजस्ता विषयमा विद्यार्थीहरुको मागलाई संस्थागत रुपमा प्रस्तुत गर्नु यसको दायित्व हो । साथै, सामाजिक न्याय, समानता, राष्ट्रिय एकताको लागि पनि विद्यार्थी सङ्घले चेतना फैलाउने अभियान चलाउनु पर्छ भन्ने मान्यता रहिआएको छ । तर, वर्तमानमा धेरै विद्यार्थी सङ्घहरु राजनीतिक दलको भातृसङ्गठन बनेका छन् । यसले गर्दा विद्यार्थीहरुको मूल आवश्यकताको सट्टा राजनीतिक स्वार्थले प्राथमिकता पाउँदैछ ।

आज विद्यार्थी सङ्घहरु आफ्नो विश्वसनीयताको सङ्कटमा छन् । राजनीतिक हिंसा, क्याम्पसमा अशान्ति र भ्रष्टाचारजस्ता आरोपले यसको छवि धुमिल भएको छ । एउटा सङ्गठन र अर्को सङ्गठनबीचको हानाहान र मारामारको अवस्था शैक्षिक संस्थामा हुनु पक्कै राम्रो कुरा हैन । यसको जस अपजसको भागिदार राजनीतिक दलहरु नै हुनुपर्छ । यसको सकारात्मक पक्ष यो हो कि सङ्घहरुले नेपाली युवाको राजनीतिक चेतना बढाउन मद्दत गरेको छ तर, अहिले विद्यार्थी सङ्घले आफ्नो मूल उद्देश्यमा फर्किने, शैक्षिक सुधार, रोजगारी र युवाको सिर्जनशीलतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । विद्यार्थी सङ्घले नेपालको इतिहास र भविष्य दुवैलाई प्रभावित गरेको त छ । यसले गतिशीलताको साथ आफ्नो भूमिका परिवर्तन गर्न सक्छ भने नेपाली शिक्षा र युवाको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन सकिने कुरालाई सबैले आत्मसात गर्नसके मात्र विद्यार्थी सङ्गठनको औचित्यता पुष्टि हुनसक्छ । यसका लागि राजनीतिक दलहरुले पनि विद्यार्थी सङ्गठनलाई स्वायत्त रुपमा काम गर्न दिनुपर्छ । विद्यार्थी सङ्गठनको इतिहास गौरवशाली छ, यसलाई भविष्यमा पनि उज्वल बनाउन सबैले भूमिका निर्वाह गर्न जरूरी छ ।