धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप आयोजक संस्था धरान फुटबल क्लबले ‘२५ औँ संस्करण’ को आयव्यय आइतबार सार्वजनिक गरेको छ ।
क्लबका अध्यक्ष प्रताप तामाङले २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा छ लाख ५९ हजार ५० रुपैयाँ बचत गर्न सफल भएको बताए । उनले अहिले पनि गोल्डकप स्वयमसेवीहरूबाटै सञ्चालन हुँदै आएको बताए । उनले विज्ञप्तिमा लेखेका छन्, ‘हाम्रो तितो सत्य हो कि अझसम्म पनि क्लबले भोलिन्टियर बेसिसमै प्रतियोगिता आयोजना गरिरहेका छौँ । यसरी प्रतियोगिता आयोजना गर्दा धेरै अप्ठ्यारा समस्याहरू भोग्नु परिरहेको छ ।’
क्लबले सार्वजनिक गरेको आयव्ययअनुसार आयतर्फ ६६ लाख ९९ हजार एक सय ५० रुपैयाँ रहेको छ भने व्ययतर्फ ६० लाख ४० हजार एक सय रुपैयाँ रहेको छ । त्यसमध्ये संस्थालाई प्राप्त हुन बाँकी रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बाट पाँच लाख रुपैयाँ, राष्ट्रिय खेलकुद परिषद्, काठमाडौँबाट तीन लाख रुपैयाँ र धरान उपमहानगरपालिकाका सबै वडाहरूबाट सात लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।
क्लबले यस वर्ष प्रवेश टिकटबाट मात्रै नौ लाख ६५ हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । हरेक वर्ष बूढासुब्बामा टिम व्यवस्थापन खर्च अत्यधिक हुँदै आएको छ । यस वर्ष पनि टिम व्यवस्थापनमा २२ लाख आठ हजार एक सय रुपैयाँ खर्च भएको जनाएको छ । यसका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोगबाटै गोल्डकप सञ्चालन हुँदै आएको क्लबले जनाएको छ ।
२०५५ सालदेखि आयोजना हुँदै आएको बूढासुब्बा गोल्डकपमा प्रताप तामाङ अध्यक्ष भएयता प्रतियोगिता सम्पन्न भएको केही समयमै आयव्यय सार्वजनिक गर्दै आएको छ । उनले विज्ञप्तिमा लेखेका छन्, ‘प्रतियोगितालाई देशविदेश सबै ठाउँहरूबाट आर्थिक सहयोग प्राप्त हुने हुनाले उक्त सहयोगको सही ठाउँमा सदुपयोग भएको छ भनेर सहयोगीहरूलाई विश्वास दिलाउनु हाम्रो मुख्य कर्तव्य हो भन्ने लागेको छ । तर सदैव खेलकुद व्यवसायीकरणको सट्टामा आर्थिक सहयोगमा भर पर्नु पक्कै पनि ठीक नहोला ।’
क्लबले यस्ता ठूला प्रतियोगितालाई धरान उपमहानगरपालिकाले अभिभावकत्व ग्रहण गरी खेलकुदलाई व्यवसायीकरण बनाउनका लागि पनि आग्रह गरेको छ ।