यही सोमबार काठमाडौँको टोखा क्षेत्रमा ट्रकमा लुकाएर ल्याउँदै गरेको ठूलो परिमाणमा विदेशी मुद्रासहित सुन तस्करी प्रकरणमा जेल सजाय काटेर आएका व्यक्ति जोडिए । उक्त रकम रसुवातर्फ लैजाँदै गरेको भन्ने प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पत्ता लागेको जनाएको छ । अमेरिकी र युरो मुद्रा नेपालीमा रुपान्तरण गर्दा २५ करोड रूपैयाँभन्दा बढी रहेको छ । यत्रोविधि रकम के कति प्रयोजनका लागि चीनतर्फ लगिँदै थियो, अहिले अनुसन्धानको चरणमै रहेकाले भन्न हतारो हुनेछ । तर, पनि यसअघिका गतिविधि र प्रकरणहरुलाई हेर्दा चीनबाट सुन तस्करी गरी भारततर्फ लाने उद्देश्यबाट रकम ल्याइएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीको अनुसन्धान पनि यसैतर्फ मोडिएको छ । फुच्चे भनिने कुसाङ लामाबाट यो तहको रकम फेला पर्नुले उनी भरिया रहेको पुष्टि भएको छ । नेपालमा बेला–बेलामा अवैधरुपमा सुनको ओसार–पसार, विदेशी मुद्राको ओसार–पसार हुने गरेको तथ्य पनि छ । गत फागुन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकिङका क्रममा एक चिनियाँ र नेपाली नागरिकलाई अमेरिकी डलर र जापानी येनसहित पक्राउ गरिएको थियो । त्यो बेला चिनियाँ नागरिकको साथबाट १० लाख ४२ हजार जापानी येन र ५ सय ८० अमेरिकी डलर साथै नेपालीको साथबाट सात हजार पाँच सय अमेरिकी डलर बरामद गरेको थियो । यस्ता रकमहरु बेलाबेलामा पक्राउ पर्दै आएको अवस्था छ । नेपालमा विदेशी मुद्राको ओसार–पसार भइरहनुले नेपाललाई तस्करहरुले ‘अन्ट्रपो’ त बनाइरहेका छैनन् ? यो प्रश्न गम्भीररुपमा खडा भएको छ । 

प्राचीनकाल तथा मध्यकालसम्म नेपाल व्यापारिक अन्ट्रपो रहेको थियो । तर आधुनिककालको प्रवेशसँगै नेपाल व्यापारिक अन्ट्रपोभन्दा पनि बढी तस्करहरुले खेल्ने थलो बनाइरहेको प्रतीत हुन थालेको छ । विशेषगरी काठमाडौँलाई तस्करहरुले एक प्रकारको अन्ट्रपो बनाइरहेको अवस्था छ । यसो हुनु राम्रो सङ्केत होइन । कतिपय प्रहरी अधिकारीले विगतको अनुसन्धानलाई मध्यनजर गरी यो घटना सुन तस्करीसँग जोडिएको हुनसक्ने अनुमान गरेका छन् । अनुसन्धान अधिकारीहरुले सुन तस्करीसँग जोडिन सक्ने भनी अनुमान लगाउन थालेका छन् । राजस्व छली गर्ने नियतस्वरुप यी कार्यहरु भइरहेको देखिन्छन् । यतिसम्म कि चालक बस्ने क्याबिनमा फल्स बटम बनाई रकम लिएर जाने गरेको भेटिएको छ । यो निर्माण गर्नका लागि पनि केही समय खर्च गरिएको देखिन्छ । यी कर्महरु विगतबाट नै हुँदै आइरहेका छन् । यसलाई नियन्त्रण गर्न प्रहरी तदारूकता मात्रै भएर पुग्दैन । यसका लागि सबै निकायको चासो र चिन्ता हुन आवश्यक छ । 

हरेक पटक तस्करका मुख्य नाइके पक्राउ पर्नेभन्दा पनि भरियाहरु पक्राउ पर्ने गरेका छन् । यो घटनामा जोडिएका व्यक्ति पनि यसअघि सुन तस्करी घटनामा पाँच वर्ष जेल सजाय काटेर रिहा भएका व्यक्ति हुन् । यस्ता घटनामा आखिर किन भरियाहरु मात्रै पक्राउ पर्छन् त ? मुख्य आरोपी तथा नाइकेहरु चाहिँ किन पक्राउ नपरेका हुन् ? यो तथ्यलाई हेर्नका लागि साढे ३३ केजी सुन प्रकरणलाई नै हेरे पुगिहाल्छ । त्यो घटनामा पनि मुख्य नाइके पक्राउ नपरेको अवस्था छ । सुनसँग जोडिएका केही मानिसहरु पक्राउ परे पनि मुख्य घटनाका योजनाकार अर्थात् लगानीकर्ता र सुन पक्राउ नपरेको अवस्था छ । यसले पनि नेपालमा हुने गरेको अनुसन्धानको तथ्यलाई सार्वजनिक गरेको छ । आखिर भरियाहरु मात्रै कानूनी कारबाहीमा पर्दै जाने हो भने हाम्रो पुलिस प्रशासनप्रतिको विश्वास उडेर जानेछ । यस्ता तस्करीहरुलाई घटाउनका लागि राजनीतिज्ञहरु पनि इमान्दार हुनुपर्ने आवाज उठ्न थालेको छ । यो विषय संसद्मा पनि उठेको छ । राजनीतिज्ञहरु इमान्दार नहुँदाको परिणाम नै अहिले यस्ता गतिविधिहरु मौलाइरहेको धेरैको आँकलन छ । अर्कोतर्फ प्रहरी प्रशासनले पनि नियन्त्रणका लागि दत्तचित्त भएर लाग्नुपर्छ । प्रहरी प्रशासनलाई सबै पक्षले सहयोग गर्नुपर्छ । अनि मात्रै यस्ता विषयलाई न्यूनीकरण गर्न सकिन्छ । हाल जे जति प्रयासहरु भएका छन् । ती अपर्याप्त छन् । यसका लागि जोडतोडका साथ सबै निकायहरु लाग्नुपर्छ ।