इटहरी । होली मनाउने क्रममा उत्पन्न विवादपछि विरोधमा उत्रिएका इटहरी–१९ सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले आन्दोलनका कार्यक्रमहरू तत्काललाई स्थगित गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले जिम्मेवारीबाट राजीनामा दिएपछि आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरिएको विद्यार्थीहरूले बताएका छन् ।
विद्यालय हाताभित्र भइरहेका विभिन्न गतिविधिबारे विद्यार्थीहरूले आवाज उठाएपछि सोमबार विद्यालय प्रशासन, कर्मचारी, शिक्षक र आन्दोलनरत विद्यार्थीहरूबीच छलफल भएको थियो । छलफलकै क्रममा अध्यक्ष गिरीको राजीनामा पत्र आएपछि विद्यार्थीहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शिव डाँगीले जानकारी दिए । ‘छलफलमा अनुपस्थित भए पनि उहाँले राजीनामा पत्र पठाउनुभएछ, हामीले एक कपी असन्तुष्ट विद्यार्थी र एक कपी विद्यालयले राख्यौँ’– डाँगीले भने ।
गिरीले राजीनामा बुझाएपछि आफूहरूले आन्दोलन स्थगित गर्ने निर्णय गरेको विद्यार्थी नेता पुरन चौधरीले बताए । उनले पुनः त्यस्तो गतिविधि दोहोरिए निर्णायक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । छलफलकै बीचमा होस्टेलका वार्डेन सोमप्रसाद पुरीलाई पनि विद्यालय प्रशासनले विद्यार्थीहरूलाई अपशब्द प्रयोग नगर्न र नियमअनुसारको काम गर्न सचेत गराएको बताइएको छ । विद्यार्थीहरूले होस्टेललाई थप व्यवस्थित बनाउनुपर्ने, खानामा सुधार हुनुपर्ने, घाइते तथा अपाङ्ग परिवारका सन्तानहरूलाई निःशुल्क शिक्षा प्रदान गराइनुपर्ने जस्ता मागहरू राख्दै आन्दोलनमा उत्रिएका थिए । होस्टेलभित्र दुई सय ५६ जना विद्यार्थी आवासीय छन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिव डाँगीले सहिद, बेपत्ता घाइते तथा अपाङ्ग परिवारका छोराछोरीहरूबाट स्कुलले कुनै शुल्क नलिएको दाबी गरे । होस्टेलको विषयमा केही विद्यार्थीहरूले असन्तुष्टि जनाएको जनाउँदै त्यसलाई व्यवस्थित गर्दै लैजान विद्यालय प्रसाशनलाई सुझाव दिइएको डाँगीले बताए ।
यता अध्यक्ष गिरीले बुझाएको राजीनामा पत्रमा भने विद्यालयको विवादबारे केही खुलाएका छैनन् । ‘घरायसी समस्याका कारण व्यवस्थापन समितिबाट आजकै मितिबाट राजीनामा दिएको छु’ भनी पत्रमा उल्लेख गरेका छन् । विद्यालयले उनको राजीनामा स्वीकृतिका लागि सहिद प्रतिष्ठानलाई इमेलमार्फत् पठाइएको बताएको छ । राजीनामाबारे विद्यालय प्रशासनले पनि केही बताउन चाहेको छैन ।
विद्यालय प्रशासनलाई राजीनामा स्वीकृत गर्ने अधिकार नभएकाले राजीनामा स्वीकृतिका लागि सहिद प्रतिष्ठानलाई इमेलमार्फत् पठाइएको छलफलमै उपस्थित शिक्षक अभिभावक सङ्घका अध्यक्ष बाबुराम राई विवशले बताए । गिरीले राजीनामा पनि प्रतिष्ठान अध्यक्षलाई सम्बोधन गरेर लेखेका छन् । यता यस विषयमा अध्यक्ष गिरीलाई पटक–पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।