सुनसरी । रामधुनी नगरपालिकाका पूर्व नगर प्रमुख जयप्रकाश चौधरीको घरसहित लगभग ८ कठ्ठा जमिन ‘गाउँ ब्लक जग्गा’ मा पर्दछ । रामधुनी–९ मर्चैया घर भएका चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा रामधुनीको नगर प्रमुख निर्वाचित भएका थिए । २०२९ सालमा तत्कालीन डुम्राहा गाविसको प्रधानपञ्च हुदाँदेखि नै उनी आफ्नो गाउँको जग्गाको समस्याबारे जानकार छन् ।
गाउँ ब्लक जग्गा भन्नाले नापी भए पनि व्यक्ति–व्यक्तिको नाममा पुर्जा नआई एकमुष्ठ रूपमा (एउटै ब्लक मानी) नापी गरिदिएको जग्गालाई भनिने नापी कार्यालयका अधिकारीहरू बताउँछन् । लामो समयदेखि भोगचलन गरिरहेको आफ्नै जग्गामा कानूनी स्वामित्व नहुँदा आफूसहित सिङ्गो बस्तीले विभिन्न सास्ती झेल्नु परेको चौधरी बताउँछन् । उनले भने, ‘जग्गा एकिन नहुँदा कसैको पनि साँध क्लियर नहुने, सिमानाका नाममा झै–झगडा हुने गरेको छ । अंशबण्डा गर्नुपर्दा पुर्जा हुँदैन । बैङ्किङ कारोबार नहुँदा समस्या छ । व्यवसाय गर्न ‘लोन’ नभई हुँदैन । पुर्जा नभएपछि न त जग्गा बिक्री गर्न नै सकिन्छ ।’
मर्चैयाकै धीरेन्द्रकुमार चौधरीको घरसहित एक कठ्ठा जग्गा गाउँ ब्लकमा पर्दछ । जग्गाको आधिकारिक स्वामित्व नहुँदा सिमानाको समस्या बेलाबेलामा झेल्नुपरेको उनले बताए । करिब ४ वर्षअगाडि नापी भएको भए पनि त्यसपछिका प्रक्रियाका बारेमा आफू अनभिज्ञ रहेको उनी बताउँछन् ।
जयप्रकाश र धीरेन्द्रको जस्तै समस्या छ, मर्चैयाकै आशा चौधरीको पनि । उनको ४ कठ्ठा दश धुर जग्गा गाउँ ब्लकमा पर्दछ । उनका ससुराले २०४७ सालमा चाँडै धनीपुर्जा पाइहाल्ने आशामा उक्त जग्गा किनेका थिए । तर किनेको ३४ वर्षसम्म कुर्दा पनि पुर्जा प्राप्त भएको छैन । जग्गाको पुर्जाको कुराका कारण आजकाल आफ्नै जग्गा पनि पराइको जस्तो लाग्ने गरेको उनी सुनाउँछन् । उनी भन्छिन्, ‘धेरैको यस्तै समस्या छ हाम्रोतिर । सबैको आउँदा हाम्रो पनि आउला ! स्वामित्व नहुँदा कहिलेकाहीँ आफ्नै जग्गा पराइको जस्तो लाग्छ ।’
रामधुनी–९ का वडाध्यक्ष घनश्याम चौधरीका अनुसार वडाका मर्चैयासहित, सितपुर, धुराहालगायत ठाउँमा गरेर करिब १२ बिघा हाराहारीमा ब्लक जग्गा रहेको छ । ब्लक जग्गामध्ये सितपुरका ३० घरले भने चाँडै धनीपुर्जा पाउने अध्यक्ष चौधरीले बताए ।
‘वडामा धेरैजनाको समस्या भए पनि ३० घरको काम चैं नापजाँच सकिएको छ । त्यति घरले चाँडै धनिपुर्जा पाउँछन् ।’ उता भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख षडकुमार पोखरेल जिल्लाका विभिन्न ठाउँमा ब्लक जग्गाको समस्या रहे पनि समाधान भएको र कतिपय ठाउँमा समस्या अझै रहेको बताउँछन् ।
पुर्जा पाइसकेका व्यक्तिहरूको तथ्याङ्क मात्रै मालपोतमा हुने तर पाउन बाँकीहरूको विवरण आफूसँग नभएको उनको भनाइ छ । ब्लक जग्गाको कारोबार नहुने र राजस्व नआउने भएकाले सरकार र नागरिक दुवैका लागि ब्लक जग्गा समस्याको विषय भएको मालपोत कार्यालय सुनसरीको भनाइ छ ।