धरान । हराईजन क्लबले आयोजना गर्र्दै आएको राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिताको नवौ संस्करण भोलि (शनिबार) देखि सुरु हुँदै छ । 

क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभरिका ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । दुई समूहमा विभाजन गरी गराइने प्रतिस्पर्धा लिगका आधारमा हुने क्लबका आर्थिक संयोजक बसन्त राईले जानकारी दिए । ए समूह र बी समूह गरी दुई समूहका विजेताहरू उपाधिका लागि भिडन्त गर्ने उनले जानकारी दिए । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, विशाल मिलन केन्द्र काठमाडौँ, हाउन्ड बास्केटबल काठमाडौँ, मोरङ बास्केटबल सङ्घ, झापा बास्केटबल सङघ र धरान टिम (नीलो) बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा गत वर्षको साविक विजेता , उपविजेता नै सहभागी भएका छैनन् । 

प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी पाउने छ । यो गत वर्षभन्दा ४० हजार रुपैयाँले बढी हो । यस्तै उपविजेता हुने टिमले नगद ७५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । यो पनि २० हजार रुपैयाँले बढी हो । यस्तै सर्वोत्कृष्टछ खेलाडीलाई नगद २५ हजार रुपैयाँ, उदयीमान खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । 

२०६९ सालदेखि आयोजना हुँदै आएको प्रतियोगितामा पहिलो संस्करण आयोजक हराईजन क्लबले जितेको थियो । त्यस्तै दोस्रो संस्करण पनि आयोजक हराईजन क्लबले नै उचालेको थियो भने २०७३ र ७५ सालमा सम्पन्न प्रतियोगितामा भने इमोर्टल क्लबले उचालेको थियो ।

२०७६ र ७८ सालमा त्रिभुवन आर्मी क्लब काठमाडौँले जितेको थियो भने २०७७ सालको संस्करणमा टाइम्स क्लब काठमाडौँले उपाधि जितेको थियो । यस्तै गत वर्ष धरानको ब्रदर्श बास्केटबल क्लबले उचालेको थियो ।