धरान । नेपाल प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका २ हजार ७ सय ५४ जनालाई फागुन महिनामा पक्राउ गरेको छ । ‘फैेसला कार्यान्वयन’ अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको छ । उनीहरूबाट ७ करोड ६२ लाख ६५ हजार जरिबानासमेत असुल गरेको छ ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशबाट ६ सय १ जना पक्राउ परेका छन् । त्यस्तै बागमती प्रदेशबाट १ सय ६३ जना, लुम्बिनी प्रदेशबाट ५ सय ३०, गण्डकी प्रदेशबाट १ सय ५६, कोशी प्रदेशबाट ३ सय ४७ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ७५ जना, कर्णाली प्रदेशबाट १२ जना पक्राउ परेका छन् । यसैगरी, काठमाडौं उपत्यकाबाट ८५३ जना र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत् १० जना पक्राउ परेका छन् ।

सात करोड ६२ लाख ६५ हजार जरिबाना सङ्कलन
पक्राउ परेकाहरूबाट जरिबाना बापत सात करोड ६२ लाख ६५ हजार रुपैयाँ असुल गरिएको छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा १ करोड २० लाख ८८ हजार चार सय ३१ रुपैयाँ जरिबाना असुल गरिएको छ ।

त्यसपछि मधेश प्रदेशबाट १ करोड १० लाख ८६ हजार एक सय ६८ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ५१ लाख ४५ हजार ९ सय ६८, गण्डकी प्रदेशबाट ५८ लाख ५० हजार ५३ रुपैया, कोशी प्रदेशबाट ९२ लाख २३ हजार ९ सय ४०, सुदूरपश्चिम प्रदेशबाट १३ लाख ७६ हजार ८६, कर्णाली प्रदेशबाट २ लाख ४२ हजार ५५ रुपैयाँ जरिबाना असुल गरिएको छ । यस्तै उपत्यकाबाट मात्रै १ करोड ७ लाख ८९ हजार ३ सय ७३ जरिबाना असुल भएको छ । 

अदालतबाट सजाय तोकिएर फरार रहेका अभियुक्तहरूको खोजी गरी कानूनी कारबाही अघि बढाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई प्रहरीले अझ प्रभावकारी बनाउने केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए । पछिल्लो समय अपराध अनुसन्धान र कानूनी कार्यान्वयनलाई थप सशक्त बनाउने उद्देश्यले प्रहरीको सक्रियता बढ्दै गएको उनको भनाइ छ ।