बिर्तामोड । तस्करको समूहले रुट परिवर्तन गरी गाँजा तस्करी गरिरहेको खुलासा भएको छ । तस्कर समूहले सुनसरी र मोरङका नाकाहरूबाट गाँजा भारत पठाउँदै आएका थिए । प्रशासनको निगरानी बढेका कारण रुट परिवर्तन गरेर झापाबाट गाँजा भारत पठाउन थालेको पाइएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शुक्रबार दिउँसो ४ बजेको समयमा झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट १ हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो ।
इलामबाट झापातर्फ आउँदै गरेका को. १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा ५७ बोरा गाँजा बरामद गरेको छ । सशस्त्रका एसपी विक्रम होमागाईंकोे कमाण्डमा खटिएको ६ जनाको विशेष अनुगमन टोली र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्रले ट्रकसहित दुईजना चालकलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा धनकुटाको सहिदभूमि गाउँपालिका–४ का २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गङ्गाबहादुर बस्नेत रहेका छन् ।
ट्रकहरूलाई नियन्त्रणमा लिने क्रममा ४ जनामध्ये दुईजना फरार भएको जनाइएको छ । पक्राउ परेकाहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट बरामद भएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेको जनाइएको छ ।
सुनसरी प्रहरीले सयौँ केजी गाँजासहित दर्जनौँ बढी सवारी साधन नियन्त्रणमा लिन थालेपछि तस्करको समूहले नयाँ रुट बनाएर गाँजा तस्करी गरिरहेको प्रहरीले स्रोतले जनाएको छ । सोही योजना अनुरूप तस्कर समूहले पूर्वका पहाडी क्षेत्रको गाँजा इलाम हुँदै झापाबाट तस्करी गर्न थालेका हुन् । सोही सूचना सशस्त्रले पाएपछि बाहिनीबाट खटिएको टोलीले झापामा आएर दुई ट्रकसहित ठूलो मात्रामा गाँजा बरामद गर्न सफल भएको हो ।