इनरुवा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ह्वाट्स एपको प्रयोग गरी चिट चोराउन सहयोग गर्ने निरीक्षकलाई सुनसरीको इनरुवाबाट रङ्गेहात पक्राउ गरिएको छ ।
इनरुवाको बबियास्थित सरस्वती मा.वि. परीक्षा केन्द्रमा निरीक्षक रहेकाहरूले नै ह्वाट्स एपबाट चिट चोराएको आरोपमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अनुगमनको क्रममा पक्राउ परेका हुन् । परीक्षा केन्द्रहरूमा अनुगमन गर्न पुगेका प्रजिअ मिश्रसहितको टोलीलाई देखेपछि निरीक्षकले मोबाइल अफ गरेका थिए । चेकजाँच गर्दा मोबाइलबाट चिट चोर्ने र चोराउने कार्यमा ह्वाट्स एप च्याट प्रयोग गरेको भेटिएको प्रजिअ मिश्रले जानकारी दिए ।
ह्वाट्सएप कुराकानीमा विद्यार्थीको नाम, सिम्बोल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको उनले जानकारी दिए । रङ्गेहात पक्राउ पर्ने शिक्षकहरूमा श्रवणकुमार चौधरी र रमानन्द मेहता छन् । उनीहरूलाई निरीक्षकबाट हटाइएको छ । यसैबीच परीक्षा केन्द्रहरूमा मोबाइल लगेको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ ।
सुनसरीको दुहबीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रकम लिएका दुई निरीक्षकलाई हटाएका थिए । प्रजिअ मिश्रले परीक्षालाई मर्यादित र शान्तपूर्ण बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको बताए ।