विराटनगर । विराटनगरमा सुरु भएको प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी विजयी भएका छन् । 

विराटनगरको गिरिजाप्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अङ्क जोडेका छन् । 

दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १ सय २० रनको विजयी लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन । मोरङका मिनाशा थापाले कसिलो बलिङ गरे । उनले ४ ओभरमा ७ रन बनाएर ४ विकेट लिए । उनी खेलको प्लयेर अफ म्याच घोषित भएर नगद २ हजार पाँच सय पाए । अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९ दशमलव ६ ओभरमा सबै विकेट गुमाई १ सय १९ रनको लक्ष्य लिएको थियो । मोरङका दीपक पासवानले सर्वाधिक रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अरू ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन् । उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए । तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए ।  बुधबारै भएको दोस्रो खेलमा सुनसरीले दिएको १ सय १८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा ग¥यो । आयोजकको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रन पारी खेल्दा जशक खड्काले अविजित २३ बलमा १५ रनको योगदान दिए । सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए । 

यसअघि सुनसरीले १९ दशमलव ६ बलमा सबै विकेट गुमाई १ सय १७ रनमा सीमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाए । सुनसरीका अरू ब्याटरले दोहोरो अङ्क ल्याउन सकेनन् । आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको कसिलो बलिङ सामु सुनसरीका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । आयोजकका जोशक खड्का प्यलेर अफ द म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।

त्यसैगरी  विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्रशान्त साह र कृष्णले समान १–१ विकेट लिए । आज (बिहीबार) को पहिलो खेल मोरङ र इलामबीच हुनेछ भने आजै हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भइरहेको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।