विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । 

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । जितसँगै आयोजकले नगद १ लाख १ हजार रुपैयाँ हात पा¥यो । उपविजेता बनेको मोरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो । 

मोरङले दिएको १ सय २० रनको लक्ष्य आयोजकले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । आयोजकको जितमा कृष शर्माले २४ रन बनाए । उनले १९ बलमा दुई चौका प्रहार गरे । सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए । उनले १ चौका प्रहार गरे । उनी खेलको प्लयेर अफ द फाइनल घोषित भए । प्रशान साहले अविजित १२ बलमा १३ रन पारी खेल्दा सागर मोचेले १८ बलमा १६ रनको योगदान दिए । निरज मुखियाले ६ बलमा  १४ रन र मुकुन्द यादवले १३ बलमा १० रन बनाए । मोरङका बलर मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एरन अलीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १९ रनको मध्यम् योगफल बनाएको थियो । कमलदेव चौधरीले अविजित ४२ बलमा ४३ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । कृतिक कामतले ४३ बलमा ३४ रन बनाए । उनले २ चौका हिर्काए । कपिल मण्डलले अविजित १० बलमा २५ रनको योगदान दिए । मोरङका अरू ब्याटरले दोहोरो अङ्क ल्याउन सकेनन् । 

आयोजकका जोशक खड्काले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए भने प्रशान्त साह र सौगात भट्टराईले समान १ –१ विकेट लिए ।

खेलको प्लेयर अफ द सिरिज मोरङ जिल्लाका मिनस थापा घोषित भए । उनले नगद १५ हजार पाए । बेस्ट ब्याटरमा आयोजकका मुकुन यादव र बेस्ट बलरमा उदयपुर जिल्लाका तेज आचार्य घोषित भए । उनीहरूले जनही ११ हजार रुपैयाँ पाए ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चैत १२ गतेदेखि भएको प्रतियोगितामा क्यानमा आबद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता हुने टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष बिन्ध्या कार्की, जिल्ला खेलकुद विकास समिति मोरङकी सदस्य शान्ता जोशी, मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।