भद्रपुर । झापामा तीनजना भुटानी शरणार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–३ बेलडाँगी शिविरमा बस्दै गरेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका–३ बेलडाँगी शिविरबाट उनीहरूलाई पक्राउ गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए ।

डिएसपी खड्काका अनुसार उनीहरूलाई अमेरिकाले भुटान फिर्ता पठाएपछि भुटानबाट पुनः नेपाल आएका हुन् । अन्य पनि आउन सक्ने भनेर प्रहरीले नाकातिर कडाइ गरेको बताएको छ । अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्न अध्यागमन विभागमा बुझाइएको उनले जानकारी दिए ।