बिर्तामोड । बिर्तामोडको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको एकपछि अर्काे ठगी काण्ड बाहिरिएको छ । संस्थाले रकम अपचलन गरेको भन्दै पूर्व कर्मचारीको घरजग्गा हडप्न थालेपछि त्यस्तो ठगी काण्ड बाहिरिएको हो ।
संस्थाका पूर्व कर्मचारीले जागिर खाँदा धितोस्वरूप राखेको घरजग्गा संस्थाले हडप्ने षड्यन्त्र गरिरहेको पाइएको छ । संस्थामा काम गरेर निस्किएका अधिकांश कर्मचारीले रकम अपचलन गरेको भन्दै धितोस्वरूप राखेको घरजग्गा संस्थाको नाममा पास गर्ने गरेको हो । बिर्तामोडका अशिष दङ्गाल, अशेष थापा मगर, प्रदीप ढकाललगायतका कर्मचारीको घरजग्गा संस्थाले रकम अपचलन गरेको भन्दै हडप्ने प्रयास गरेको हो । कीर्ते कागजात बनाएर त्यसरी धितो हडप्न थालेपछि संस्था निरन्तर विवादित बन्दै गएको छ ।
संस्थाले ८० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने बिर्तामोडका दङ्गाललाई जबरजस्ती १६ लाख ५० हजार अपचलन भएको भन्दै तिर्नका लागि दबाव दिइएको थियो । प्रहरीसम्म पुगेको त्यो विषयमा दङ्गालका आफन्तको दबाव झेल्न नसकेर १६ लाख ५० हजार तिर्नुपर्ने तमसुक च्यातिएको थियो । दङ्गाल मात्र होइन, अर्का कर्मचारी प्रदीप ढकालको पनि संस्थामा उही अवस्था भयो । इलाममा आफ्ना बाबुको नाममा भएको १५ रोपनी जग्गा धितो राखेर ढकालले संस्थामा जागिर खाएका थिए । लगभग १ वर्ष संस्थामा जागिर गर्दा पनि गुजारा नचल्ने देखेपछि उनी हिसाब मिलान गरेर वैदेशिक रोजगारमा दुबई गए ।
ढकाल वैदेशिक रोजगारीमा गएपछि संस्थाले उनले ८ लाख ७९ हजार १ सय ४ रुपैयाँ अपचलन गरेको भन्दै धितोमा राखेको जमिन फुकुवा गरेन । संस्थाका पदाधिकारीको सो हर्कतपछि ढकालले स्थानीय सञ्चारमाध्यम गुहारे । सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संस्थाको बदनाम हुने भयले संस्थाले उनलाई क्लिन चिट दियो । उनले संस्थालाई कुनै रकम बुझाउनु नपरेको बताएका छन् । अझ रोचक त के छ भने संस्थाले १७ औं वार्षिक साधारणसभामा दुईवटा प्रतिवेदन सार्वजनिक ग¥यो । एउटा प्रतिवेदनमा ढकालले रकम तिर्नुपर्ने उल्लेख छ भने अर्काे प्रतिवेदनमा संस्थाका वर्तमान लेखाप्रमुख चक्रबहादुर खत्री र ढकालले हिसाब मिलान गर्नुपर्ने लेखिएको छ ।
दङ्गाल र ढकालजस्तै अर्का कर्मचारी अशेष थापा मगरको पनि उठिबास लागेको छ । कोशी प्रदेशसभाका सांसद्समेत रहेकी उनकी आमा कमला थापामगर उपाध्यक्ष रहेका समयमा उनका छोरा अशेष सो सहकारीमा काम गर्थे । शाखामा कार्यरत रहेका समयमा ६७ लाख ८० हजार बढी रकम अपचलन गरेको भन्दै जबरजस्ती दुई प्रकारका तमसुक गराएर सहकारीले रकम असुली गरिरहेको थियो । छोराको रकम अपचलनको घटना बाहिरिएपछि सांसद् थापा मगरले उपाध्यक्षबाट राजीनामा दिएकी थिइन् ।
मगरले अपचलन गरेको रकमको संस्थाले तमसुक गराएको थियो । छोराले रकम अपचलन गरेकै होला भनेर सांसद् थापाले बिर्तामोड–६ को १८ दशमलव १० धुर जमिन ३७ लाख रुपैयाँ मूल्य राखेर पास गरिदिएको बताइन् । त्यसपछि बाँकी रकम मासिक किस्ताको हिसाबले तिर्न थालिन् । १२ लाख रुपैयाँ किस्ता रकम जम्मा गरेपछि अरू कर्मचारीलाई समेत कीर्ते तमसुक गराएर रकम असुल गरेको थाहा पाएपछि किस्ता तिर्न छोडेको उनले बताइन् । पूर्व कर्मचारी मगरले रकम अपचलन गरेको वास्तविक प्रमाण सहकारीले प्रतिवेदनमा उल्लेख गर्न सकेको छैन ।
गत पुष अन्तिम साता सहकारीले १७ औं साधारणसभा सम्पन्न गरेको थियो । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट पुष २६ गते साधारणसभा रोक्न पत्र आएको थियो । पत्रको मर्म विपरीत सम्पन्न भएको साधारणसभाबाट निर्वाचित पदाधिकारीले हालसम्म वैधानिकता पाउन सकेका छैनन् । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले प्रदेश सहकारी कार्यालयबाट छानबिन टोली आएपछि मात्र निर्वाचित भएकाहरूलाई वैधानिकता दिने आश्वासन पाएको बताए । उनले कोषको सामान्य काम गर्दै आएको भन्दै अफिसियल काममा हस्ताक्षर गर्न नपाएको बताए ।
सहकारीले रहस्यमय तरिकाले कारोबार गर्ने गरेको अर्काे प्रमाण पनि सार्वजनिक भएको छ । सहकारीद्वारा सञ्चालित सहकारी पसलले ‘सस्पेन्स एकाउण्ट’ खोलेर रकम लुकाउने गरेको पाइएको छ । संस्थाका एक कर्मचारीका अनुसार हिसाबभन्दा बढी देखिएको रकम सो खातामा लुकाएर राख्ने गरिएको छ । सो खाताबारे कुनै पनि प्रतिवेदनमा केही उल्लेख छैन । सो रकम लाखौंको आकारमा हुने कर्मचारीले नै बताएका छन् । सहकारी संस्थाको लगातारको ठगी सार्वजनिक भइरहँदा हजारौं बचतकर्ताको रकम नै जोखिममा पर्ने प्रष्ट देखिएको छ ।