धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर बजारबाट एक महिलाको सुनको सिक्री लुटपाट भएको छ ।
प्रकाशपुर बजारस्थित हटियामा सब्जी किन्ने क्रममा ४० वर्षीया रमा तामाङले घाँटीमा लगाएको दुई तोला सुनको सिक्री लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पीडिताले प्रहरीमा दिएको उजुरीअनुसार सुनसरी कोशी गाउँपालिका–८ लौकही बस्ने २० वर्षीय भुवन यादवले लुटपाट गरेको जनाइएको छ । लुटपाट गरी भाग्ने क्रममा उनलाई स्थानीयले नियन्त्रणमा लिई कुटपिटसम्म गरेको प्रहरीले जनाएको छ ।
शनिबारका दिन दिउँसो साढे ५ बजेतिर लुटपाट गरेका थिए । स्थानीयले पक्राउ गरेका उनलाई प्रहरी चौकी प्रकाशपुरलाई जिम्मा लगाएको थियो । आरोपित यादवलाई सामान्य चोटसमेत लागेकाले स्थानीय नगर अस्पताल चक्रघट्टीमा उपचार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।