नेपालको पूर्वी तराईका झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरीमा पछिल्ला केही वर्षयता मानव–हात्ती द्वन्द्व गम्भीर समस्या बनेको छ। हात्तीबाट मानव क्षति र मानवबाट हात्तीको आक्रमणको तथ्याङ्कको ग्राफ उचाइमा छ । वन विनाश, खेतीयोग्य जमिन विस्तार तथा मानव बसोबास क्षेत्र बढ्दै जाँदा हात्तीको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ। फलस्वरुप हात्तीहरु खाद्य सामग्रीको खोजीमा बस्ती छिर्छन्, जसका कारण मानिस र हात्तीबीच आमनेसामने हुने अवस्था सिर्जना हुन्छ। यसले गर्दा हात्तीको आक्रमणमा परेर मानिसको मृत्यु हुने तथा प्रतिशोधमा मानिसहरुले हात्ती मार्ने घटनाहरु निरन्तर जारी छ । पछिल्ला तथ्याङ्कले देखाउँछन् कि हात्तीको आक्रमणबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ। झापामा मात्रै १४ वर्षमा ६४ जनाले ज्यान गुमाएका छन् भने २२ वटा जङ्गली हात्ती मारिएका छन्। वन विनाशले हात्तीहरुको परम्परागत मार्ग अवरूद्ध भएको कारण उनीहरु मानवबस्तीमा पस्न बाध्य भएका छन्। मावनबस्तीमा पसेर विध्वंस मच्चाउँदा मानव–हात्ती द्वन्द्वको बढोत्तरी भएको छ ।
जङ्गली हात्तीले खेतबारी नष्ट गर्दा स्थानीय बासिन्दा आक्रोशित भएर प्रतिकारमा उत्रिएका घटना प्रशस्त छन् । कतिपय स्थानमा हात्तीलाई करेन्ट लगाएर मार्नेसमेत गरिएको छ। तर घटनाक्रम अध्ययन गर्दा देखिएको छ कि हात्तीलाई दुःख दिने क्षेत्रमै हात्तीको आक्रमणबाट मानिसले ज्यान गुमाएका छन् । यसले मानव–हात्ती द्वन्द्वलाई थप जटिल बनाइरहेको आभास हुन्छ । हात्ती अत्यन्तै संवेदनशील र बौद्धिक प्राणीको रुपमा लिने गरिन्छ । उनीहरुको स्मरणशक्ति बलियो हुने भएकाले आफूलाई दुःख दिने वा जिस्क्याउने मानिस वा क्षेत्रलाई लामो समयसम्म सम्झने गर्छन् । जसका कारण धेरे समयपछि पनि त्यही स्थानमा आएर हात्तीले उपद्रो गर्ने र मानवमाथि आक्रमण गर्ने गरेका घटनाहरु छन् । हात्तीको प्राकृतिक बासस्थान जोगाउने, हात्ती आवतजावत गर्ने क्षेत्रलाई सुरक्षित राख्ने तथा स्थानीय बासिन्दामा जनचेतना अभिवृद्धि गरेर मात्र द्वन्द्व न्यूनीकरण गर्न सकिने कुरालाई सरोकारवालाहरुले ध्यान पुर्याउनु पर्दछ ।
झापा, मोरङ, सुनसरी तथा उदयपुरका विभिन्न क्षेत्रमा हात्तीले बासस्थान बनाउँदै आएका छन् । जङ्गल मासिँदै जाँदा उनीहरु आहारको खोजीमा मानवबस्ती पसेका छन् । यस्तो अवस्थामा दीर्घकालीन समाधानका उपायहरु अवलम्बन गरिनुपर्दछ। वन तथा वातावरण संरक्षण, सामुदायिक सहभागिता तथा क्षतिपूर्ति वितरण प्रणालीलाई प्रभावकारी बनाएर मानव–हात्ती द्वन्द्व समाधान खोजिनु पर्दछ । स्थानीय प्रशासन र वन विभागले हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । झापामा मात्रै हात्तीपीडित ५ सय १० जनालाई राहत वितरण गरिएको छ। साथै, सोलार फेन्सिङजस्ता प्रविधिहरु अपनाएर हात्तीलाई मानवबस्तीमा पस्नबाट रोक्न खोजिएको छ। तर यी सबै प्रयासहरु अस्थायी समाधान मात्र हुन् । दीर्घकालीन रुपमा मानव–हात्ती द्वन्द्व समाधान गर्न वन संरक्षण, सुरक्षित बसाइसराइ नीति तथा स्थानीय समुदायको सहकार्य आवश्यक छ। वातावरणीय सन्तुलन कायम राख्दै वन्यजन्तुको बासस्थान सुरक्षित गर्ने हो भने मात्र द्वन्द्वलाई न्यूनीकरण गर्न सकिन्छ ।