नेपालबाट पछिल्लो चार वर्षमा जापानसहित विभिन्न मुलुकहरुमा उल्लेखनीय परिमाणमा घिउ निर्यात भएको छ। जापानमा मात्रै ४ वर्षको अवधिमा चार करोड ७८ लाख ७५ हजार रुपैयाँको घिउ निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसले नेपाली दुग्ध उद्योगको सम्भावनालाई उजागर गरेको छ । विभिन्न मुलुकबाट नेपालले बढी सामग्री आयात मात्र गर्दै आएको छ । निर्यातभन्दा आयातको मात्रा बढी हुँदा नेपालले घाटा व्यहोरिरहेका बेला पछिल्लो समय घिउ निर्यात बढ्दै जानु सुखद् मान्न सकिन्छ । तथापि निर्यातको मात्रा अपेक्षाकृतरुपमा कम रहेको र बजार विस्तारका लागि अझ प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।

नेपालमा घिउ उत्पादन मुख्यतः नेपाल दुग्ध विकास संस्थान (डीडीसी) तथा निजी डेरी उद्योगहरुद्वारा हुँदै आएको छ। हाल मासिक ५ हजार लिटर घिउ नेपालबाट निर्यात भइरहेको बताइएको छ। घिउ उत्पादन वृद्धिका लागि सरकारले ठोस नीति ल्याउनु आवश्यक छ। गाई–भैंसीपालनमा आधुनिक प्रविधिको प्रयोग गरी दुग्ध उत्पादन बढाउनु प्राथमिक आवश्यकता हो । नेपालीहरुले पशुपालन छाड्दै गएका छन् । गाउँघरमा कृषिकर्म गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । दूधजन्य पदार्थ उत्पादन तथा बिक्री वितरण बढाउनु आजको आवश्यकता हो । किसानहरुलाई प्रोत्साहन गर्न अनुदान, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराएर व्यावसायिक डेरी फार्मिङ प्रवद्र्धन गर्नुपर्दछ । डेरी उद्योगमा आधुनिक प्रशोधन संयन्त्र तथा गुणस्तरीय प्याकेजिङ प्रविधिको विकासले उत्पादनको मापदण्ड सुधार गर्न सकिन्छ।

नेपालको घिउ अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बनाउन निर्यातको विविधीकरण आवश्यक छ। हाल जापान, भारत, अष्ट्रेलिया र अमेरिकामा मात्र सीमित रहेको नेपाली घिउलाई अन्य मुलुकमा प्रवद्र्धन गर्नुपर्दछ । यसका लागि कूटनीतिक पहलमार्फत् नयाँ बजार पहिचान गर्दै निर्यात प्रक्रियालाई सरल बनाउनु अपरिहार्य छ । नेपाली उत्पादनको  शुद्धतालाई सरकारले बजारीकरण गर्नु पनि जरूरी छ । सरकारले किसान र उद्योगीहरुलाई प्रोत्साहन गर्न कर छुट, अनुदान तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्दछ । स्थानीयस्तरमा दूध सङ्कलन तथा आपूर्ति व्यवस्थापनलाई व्यवस्थित गर्दै चिस्यान प्रणाली सुधार गर्नुपर्दछ । नेपाली घिउलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न ब्रान्डिङ तथा प्रवद्र्धनमा राज्यले ध्यान पु¥याउनु पर्दछ । घिउ उत्पादन वृद्धि गर्न नीति सुधार, प्रविधिको प्रभावकारी प्रयोग, निर्यातको विस्तार र कृषकहरुको क्षमता अभिवृद्धि अपरिहार्य छ। यी उपायहरु अवलम्बन गर्नसकेनेपाल घिउ निर्यातमा अग्रणी बन्नुका साथै अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनेमा दुईमत छैन ।