इटहरी । इटहरी उपमहानगरपालिका–२ मा रहेको जनता माध्यमिक विद्यालयले सार्वजनिक विद्यालयकै हैसियतमा शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको विद्यालयले दाबी गरेको छ । २०१३ सालमा स्थापना भएको यो विद्यालय प्रदेशकै एक उत्कृष्ट शिक्षण संस्थाका रूपमा स्थापित भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जिम्मेवारी सम्हालेका दुई कार्यकालको अनुभव बाँड्दै विद्यालयको उल्लेखनीय परिवर्तनको विवरण मङ्गलबार सार्वजनिक गरेका छन् ।  उनका अनुसार, विद्यालय सुधारको सङ्कल्पसँगै निजी विद्यालयमा अध्ययनरत आफ्नै सन्तानलाई पनि यही विद्यालयमा भर्ना गरिएको उल्लेख गर्दै सबै शिक्षक र कर्मचारीका छोराछोरीहरूलाई समेत विद्यालयमै भर्ना गरिने अभियानले संस्थागत सुधारमा टेवा पुगेको उनले बताए । 

२०७२ सालको भूकम्पपछि जीर्ण बनेको विद्यालयलाई नयाँ उचाइमा पु¥याउन अभिभावक, शिक्षक तथा समुदायको सक्रिय सहयोग वरदान सावित भएको उनले बताए । प्रारम्भमा १२ वटा कक्षाकोठाबाट सुरु भएको यो विद्यालय हाल ७६ वटा कक्षाकोठासहित ३ हजार २ सय २ जना विद्यार्थी अध्ययनरत उत्कृष्ट शिक्षालयमा परिणत भएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

उनका अनुसार विद्यालयले विज्ञान, व्यवस्थापन र मानविकी विषयका साथै कम्प्युटर विज्ञान, कानून र विज्ञानका कार्यक्रमहरू समेत सञ्चालनमा ल्याएको छ । हाल विद्यालयमा ३ वटा बस सेवा उपलब्ध छन् भने अधिकांश कक्षाहरू प्रविधिमैत्री बनाइएका छन् । राज्यकोषबाट ३२ जना शिक्षक कर्मचारीले सेवा गरिरहेका छन् भने अभिभावकको सहयोगबाट १ सय ४८ जना शिक्षक कर्मचारी परिचालित छन् ।

विद्यालयले विद्यार्थी सङ्ख्यामा तीव्र वृद्धि गरे पनि कक्षाकोठा र शिक्षक दरबन्दी अभावले इच्छुक हजारौँ विद्यार्थीलाई भर्ना गर्न नसकेको उनको भनाइ छ । विद्यालय सुरुवाती समयमा १८ लाख रुपैयाँ घाटामा रहे पनि हालसम्म ४७ लाखभन्दा बढी अक्षयकोष र ५५ लाखभन्दा बढी बैङ्क मौज्दात रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सम्बन्धित निकायहरूलाई विद्यालयका लागि आवश्यक पूर्वाधार, भवन तथा सुविधा विस्तारमा पहल गरिदिन अनुरोध गर्दै आफ्नो कार्यकाल सम्पन्न भएको जानकारी गराएका छन् । ‘विद्यालयको सफलतामा सम्पूर्ण समुदायको समर्पण र सहयोग अमूल्य छ’ अध्यक्ष दङ्गालले भनेका छन्, ‘अब विद्यालयलाई गुणस्तरीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्न आगामी नेतृत्वको साथमा सबैले निरन्तर साथ दिनुपर्नेछ ।’